पर्यटन/संस्कृति

गुरु गोरखनाथको स्मरणमा पूजा

काठमाडौँ । गोर्खाली जातिका आराध्यदेव गुरु गोरखनाथको स्मरणमा आज वैशाख शुक्ल पूर्णिमाका दिन रत्नपार्क, शान्तिबाटिकास्थित उहाँको मूर्तिमा साधु, सन्त, अनुयायीलगायतले पूजा गरेका छन् ।

ओम सेना नेपालले आयोजना गरेको कार्यक्रममा त्यहाँस्थित गोरखनाथको मूर्तिमा विधिविधानअनुसार पूजासमेत गरिएको छ । सो अवसरमा पूजापछि भण्डारासमेत लगाइएको थियो । गोरखा राज्य गुरु गोरखनाथकै नामबाट रहेको बताइन्छ । गोरखा राज्यमा बस्ने गोर्खाली जाति गुरु गोरखनाथलाई नै आफ्ना आराध्यदेव मान्थे ।

महायोगी गुरु गोरखनाथको उत्पत्ति हालको पाकिस्तानको रावलपिण्डीमा बाह्रौँ शताब्दीतिर भएको जनश्रुति पाइन्छ । ओम सेना नेपालका अध्यक्ष धनबहादुर कुँवरका अनुसार हिन्दू, मुसलमान, इसाई, बौद्धलगायतले गुरु गोरखनाथलाई विभिन्न स्वरुपमा विश्वास प्रकट गर्छन् । हाम्रा मुद्रामा गुरुको नाम तथा पादुका अंकित भएको पाइन्छ । शाहवंशीय राजाले उहाँको उच्च आदर सम्मान गरी आफ्नो पूज्यदेव मान्ने र प्रत्येक कार्य गुरु गोरखनाथलाई सम्झेर मात्र गर्थे ।
उक्त संस्थाले तीन वर्षदेखि प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन उहाँको स्मरणमा विभिन्न धार्मिक गतिविधि गर्दै आएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई गुरुले योगीको भेषमा आशीर्वाद र दही खान दिनुभएको भनाइ इतिहासमा उल्लेख गरिएको छ । महायोगी गुरु गोरखनाथकै आशीर्वादले नेपाली विश्वमा वीर गोर्खाली बन्न भएको सफल अनुयायी बताउँछन् ।