आर्थिक

चितवनमा पूँजीगत खर्च ३८ प्रतिशत

चितवन । चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा पूँजीगत खर्च ३७।७४ प्रतिशतमात्रै भएको छ । गत आर्थिक वर्षको यसै अवधिको भन्दा १० प्रतिशत बढी भए पनि समयानुसार खर्च भने निकै कम हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी भृगुराज खनालका अनुसार चालू आवको नौ महिनामा रु दुई अर्ब नौ करोड ३८ लाख २४ हजार खर्च भएको छ । गत आवको यसै अवधिमा रु एक अर्ब ५८ करोड १४ लाख ४३ हजार खर्च भएको थियो ।

यसवर्ष सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडक आयोजनामा मात्रै रु ८५ करोड ५४ लाख ४२ हजार खर्च भएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय भरतपुरका रु ४३ करोड ७८ लाख ६१ हजार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु २२ करोड ६० लाख ४८ हजार र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको रु १५ करोड १० लाख नौ हजार खर्च भएको छ । अन्य कार्यालयको खर्च न्यून रहेको उनले बताए ।

यसैगरी चालू आवको नौ महिनामा चालू खर्चतर्फ ६८।८५ प्रतिशत खर्च भएको छ । यस अवधिमा रु छ अर्ब ७५ करोड ९८ लाख ६४ हजार चालू खर्च भएको हो । गत आवको यसै अवधिमा ५१।६४ प्रतिशत चालू खर्च भएको थियो । यो अवधिमा रु चार अर्ब ९८ करोड ७५ लाख १२ हजार खर्च भएको थियो ।

स्थानीय तह गठनपछि केन्द्रीय योजनाबाहेकको खर्च स्थानीय तहबाट नै हुने भएकाले कोलेनिकामा यो बजेट आउँदैन ।

यस वर्ष पूँजीगत खर्चतर्फ कोलेनिकामार्फत हालसम्म रु पाँच अर्ब ५६ करोड ६६ लाख ५३ हजार निकासा भइसकेको छ । गत वर्ष रु पाँच अर्ब ७७ करोड ८४ लाख १२ हजार निकासा भएको थियो । पूँजीगत खर्च रकमान्तर भई अन्यत्रबाट पनि असारसम्म आउने हुँदा रकम बढ्न सक्ने कार्यालयले जनाएको छ ।