समाचार

तीनसय ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मानित

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ ले वडाका ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेको छ । वडाले आज स्थानीय दिव्यश्वरी मन्दिरको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी करीब ३०० जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेको हो ।

वडाले ज्येष्ठ नागरिक र एकल महिलालाई एक–एक थान कम्बल र पौष्टिक आहार प्रदान गर्दै सम्मान गरेको हो ।

सो अवसरमा आयुर्वेदिक औषधालय, समित अस्पताल र स्थानीय हेल्थपोष्टको सहयोगमा ज्येष्ठ नागरिक र एकल महिलाको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

स्वास्थ्य परीक्षणका क्रममा आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए । शिविरमा सहभागीको रक्तचाप, मधुमेह र सामान्य स्वास्थ्य परीक्षण गरिएको स्थानीय हेल्थपोष्टका प्रमुख उमेश धौभडेलले बताए ।