समाचार

सुकिलुम्बा विमानस्थलबाट परीक्षण उडान हुने : नेता नेम्वाङ

मंगलबारे, इलाम । पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण हुने बताएका छन् ।

नेम्वाङले आज बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पु¥याएर १० दिनभित्र परीक्षण उडान गरिने बताए ।

एक दशकदेखि निर्माण कार्य शुरु भएको विमानस्थल सञ्चालन गर्न जिल्लावासीको चासो बढिरहेका बेला नेम्वाङले परीक्षण उडान गर्ने आश्वासन दिनु भएको छ । उहाँको यस आश्वासनले जिल्लावासी उत्साहित भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई उद्धृत गर्दै १० दिनभित्र परीक्षण उडान हुन्छ, १५ दिनमा इलाम लिएर जान्छु भनेको स्मरण गरे ।

सुकिलुम्बामा ट्विनअटर विमान अवतरण तथा उडान हुने बताइएको छ ।

फरक प्रसंगमा नेता नेम्वाङले पार्टी एकताको विकल्प नरहेको बताए । नेम्वाङले पार्टी एकतामा कुनै समस्या नभएको भन्दै एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई पार्टीका अध्यक्षबीच गम्भीर छलफल भइरहेको बताए ।

दुई पार्टीको एकतालाई निर्वाचनबाट नागरिकले अनुमोदन गरिसकेकाले पनि एकताको विकल्प नभएको उनको भनाइ छ ।