देश

बुद्धजयन्तीका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले लुम्बिनी पुगेर के भने ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आमाका सपूत एवं अमरज्योति शान्तिका अग्रदूत बुद्धजयन्तीको शुभकामना दिएकी छन् । महामानव गौतमबुद्धको २५६२ औँ जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी लगायत सम्पूर्णलाई व्यक्त गरेकी हुन् ।

उनले गौतमबुद्धको जन्मस्थान लुम्बिनी पुगेर आफ्नो शुभकामना सन्देशमा भनेकी छन्, शाक्यमुनि बुद्धले दिएको शान्ति, अहिंसा, मेलमिलाप र करुणा भावनाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावलाई शुभकामना व्यक्त गर्दछु, साथै धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सदृढ एवं सबल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि प्रेरणादायी बनेकाले सबैले अनुसरण गर्नुपर्छ ।

बौद्ध दर्शनलाई आत्मसात गरेर हिड्नुपर्ने राष्टपति भणडारीको भनाई थियो । साथै उनीले उभौली पर्वको समेत शुभकामना व्यक्त गरेकी छन् । शुभकामना सन्देश दिँदै उनले भनिन्, नेपालको मौलिक र विशिष्ट संस्कृतिसहितको समुदाय किराँतको उभौली पर्वले नेपालीबीच आपसी सद्भाव, भ्रातृत्व र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलामिलापको वातावरण सिर्जना गरोस् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदैँ बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटनको केन्द्र बनाउने बताएका छन् । नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेपनि ओझेलमा परेको भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार नपुगेको कारण बाह्य पर्यटकको संख्यामा कमी आएको भन्दै उहाँले अन्तर्राष्ट्रिय स्तरमा यसको प्रचार प्रसार र प्रर्बद्धनलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन हिजो लुम्बीनी पुगेका प्रधानमन्त्री ओलीले सोमबार बिहान विभिन्न सम्पदाको अबलोकन समेत गरेका थिए ।