शिक्षा

विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा

रामपुर, पाल्पा । बीचमै कक्षा छाड्ने र विद्यालयको घेराभन्दा बाहिर रहेका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ ।

कालिका आधारभूत विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई रिब्दिकोट गाउँपालिकाले निःशुल्क रुपमा दिवा खाजाको शुरुवात गरेको हो । यहाँ रहेका ११६ जना विद्यार्थीलाई एक वर्षसम्मको लागि निःशुल्करुपमा गाउँपालिकाले दिवा खाजा उपलब्ध गराएको छ । विशेष गरी कुमाल समुदायको बाक्लो उपस्थिति रहेको यस विद्यालयमा बीचमै कक्षा छाड्ने दर बढ्दो र केही विद्यार्थी विद्यालयको घेराभन्दा बाहिर रहेकाले उनीहरुलाई विद्यालय नियमित आउन बानी बसाल्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । दिवा खाजाको लागि विद्यालयले एक जना कर्मचारीको व्यवस्था गरेको छ ।

कुमाल समुदायका १० जना बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेकोमा तीन जना बालबालिकालाई भर्ना गरिएको र अन्य सात जना बालबालिकामध्ये केही अपांगता भएको र केही आफ्नो गाउँभन्दा बाहिर भएकाले विद्यालय भर्ना अभियानमा सहभागी गराउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताए ।

गरीब, असाहय कुमाल समुदायका बालबालिकालाई विद्यालय पहुँचमा ल्याउनको लागि रिब्दिकोट गाउँपालिकामा कार्यरत कर्मचारीले एक दिनको तलबबापत रु १६ हजार २००, गाउँपालिकाका अध्यक्ष नारायण जिसीले व्यक्तिगत रुपमा रु १२ हजार, पाल्पा काठमाडौँ सम्पर्क मञ्चले रु १० हजार, सामाजिक स्रोत विकास केन्द्रले रु १० हजार र अन्य संघ संस्थाबाट गरी रु एक लाख पाँच हजार अक्षयकोष स्थापना भएको छ ।

विद्यालय र गाउँपालिकाको संयुक्त खाता सञ्चालन गरी गरीब, असहाय र जेहेन्दार कुमाल बालबालिकाको लागि पूर्णरुपमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको छ ।