स्वास्थ्य

रक्त क्यान्सर पीडित बालकको उपचारका लागि रकम अभाव

फलेवास, पर्वत । रक्तक्यान्सर रोगबाट पीडित यहाँको एक विपन्न परिवारका बालकको उपचारका लागि आर्थिक अभाव भएको छ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका १४ वर्षीय बालक अर्जुन गौतम विगत चार महिनादेखि रक्त क्यान्सर रोगबाट पीडित बनेका हुन् । बाबु मजदूरी गरेर घरायसी खर्च जोहो गर्दै आएको परिवारमा उपचार खर्च जुटाउन धौधौ परेपछि सहयोगका लागि परिवारले अपिल गरेको छ । अहिले उनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

उपचारका लागि डाक्टरले झण्डै रु २० लाख लाग्ने भनेपछि अहिले सहयोग जुटाउनका लागि परिवारले सबैसँग अपिल गरेको छ । त्यस्तै स्थानीय छिमेकीले सहयोग संकलनका लागि अभियाननै सञ्चालन गरेका छन् । अहिलेसम्म झण्डै रु दुई लाख संकलन भएको स्थानीय शिक्षक सुरेन्द्र गौतमले जानकारी दिए ।

कक्षा ९ मा अध्ययनरत अर्जुनको तीन महिनादेखि उपचार गराउनुपर्दा वार्षिक परीक्षा दिनबाट समेत वञ्चित बनेका छन् । उनी अहिले चालू शैक्षिक सत्रदेखि कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी हुन् । मजदूरी गरेर गुजारा चलाउँदै आएको परिवारमा यति ठूलो पीडा परेपछि बाबुआमासमेत चिन्तित बनेका छन् । उपचार गरौँ भने आफूसँग पैसा छैन, नगरौँ भने छोराको ज्यानै जाने भयो अर्जुनका बाबु सुकराज गौतमले भन्नुभयो, “कतैबाट सहयोग पाएमा सहज हुने थियो ।”

उनको उपचार गर्न जुटाउनका लागि गाउँलेले सदरमुकामस्थित ग्लोबल आइएमई बैंकमा खाता खोलिदिएका छन् । सहयोगीलाई उक्त बैंकको खाता नम्बर ६६०७०१०००२४१५ मा जम्मा गरिदिन पनि अपिल गरिएको छ । जति छिटो रकम जम्मा ग¥यो त्यतिनै छिटो शल्यक्रिया गर्ने भनेर डाक्टरले ताकेता गरेकाले परिवारसहित गाउँले अभियाननै सञ्चालन गरेका छन् । तर पनि पर्याप्त सहयोग जुटाउन नसकिएको स्थानीय सुरेन्द्र गौतमले बताए ।