देश

नेपालमै भयो गाउँखाने कथा जस्तै घटना, छोरी–ज्वाइँलाई गाउँनै दाइजो

काठमाडौं, वैशाख १७ । गाउँखाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुन बढाउने रमाइलो खेल हो । गाउँ खाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ ।

गाउँखाने कथामा जस्तै पर्साको एउटा गाउँका बासिन्दाले वास्तविक जीवनमै एउटा गाउँ दिएका छन् । तर, यहाँ गाउँखाने कथा सोध्नेलाई गाउँ दिइएको होइन, विवाहमा छोरी–ज्वाइँलाई गाउँ नै दाइजो दिइएको हो ।

पर्साको बहुदरमाई नगरपालिका–७ मा बहिनी नैना डोमको बिहे हुँदा उनलाई दाइजोमा गाउँ दिइएको उनका दाजु लक्ष्मी बताउँछन् । उनी भन्छन्, ‘बिहे गर्दा दाइजो दिन बुबासँग पैसा नभएकाले दाइजोमा गाउँ दिएर बहिनीको बिहे गरिएको हो ।’

करिब २० वर्षअघि भारतको इनर्वा बजारमा नैना डोमको बिहे भएको हो । उनलाई विश्रामपुरको दक्षिण टोला दाइजोमा दिइएको हो । उनका अनुसार बहिनीबाहेक डोम समुदायका अरु कोही पनि त्यो गाउँमा माग्न वा कमाउन जान पाउँदैनन् ।

दाइजोमा पाएको गाउँबाट मागेर आफ्नो गुजारा चलिरहेको नैना सुनाउँछिन् । ‘त्यो पनि मुस्किलले दुई छाक खान पाइन्छ,’ उनले भनिन्, ‘आफूसँग न पैसा छ, न त बस्ने घर नै ।’ नहरछेउको अलिकति खाली जग्गामा टाँगिएको त्रिपाल नै आफ्नो घरसंसार भएको उनी बताउँछिन् ।

यतिमात्र नभई रकम अभाव भएका बेला दाइजो पाएको गाउँ बन्धकी राखी ऋण लिएर उनी आफ्नो गर्जो टार्छिन् । नगद लेनदेनमा जस्तै यस्तो ऋणको पनि म्याद हुन्छ ।  –अन्नपूर्ण पोस्ट दैनिकबाट