पर्यटन/संस्कृति

महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु

बाबियाचौर, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ ।

ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण शुरु गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा कृत्रिम पोखरी निर्माणको काम शुरु भएको छ ।

असी वटा ग्यावियन भरेर पर्खाल लगाई दुई मिटर गहिरो पोखरी बनाउने काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका सदस्य हेम गर्बुजाले बताए ।
पोखरी बनाएपछि झरना थप आकर्षक देखिने सदस्य गर्बुजाले बताए । आगामी वर्ष रेलिङ, पार्किङस्थल र प्रतिक्षालय निर्माण गर्ने योजना रहेको छ । झरनादेखि करीब ५० मिटर नजिक रहेको बेनी जोमसोम सडकमा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्छन् ।

प्रचारप्रसार र पूर्वाधारको कमीले झरना सुनसान अवस्थामा छ । पहाडको फेदीमा करीब १०० मिटर माथिबाट निकै आकर्षक र मनमोहक देखिने महभिर झरना पूर्वाधार विकास, प्रचारप्रसार र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको छ । उक्त झरना नजिकै मन्दिर पनि रहेको छ । जहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले झरनाको धार्मिक महत्वसमेत छ ।

यातायातको पहुँच रहेकाले उक्त झरनामा साहसिक खेल क्यानोइङ पनि सञ्चालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष गमबहादुर फगामीले बताए।

पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएपछि प्रवेश शुल्क लिने र गाउँपालिकाको आयस्रोतको रुपमा समेत परिचालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष फगामीले बताए । झरनाको पर्यटन विकास गर्नसकेमा नजिकै होटल तथा रेष्टुराँ, होमस्टे सञ्चालन गरेर स्थानीयवासीले आम्दानी गर्नसक्ने सम्भावनासमेत छ ।