देश

नमूना मार्गमा लायन्सको स्तम्भ

दमक । यहाँस्थित लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले दमक–६ स्थित नमूना मार्गमा लायन्स स्तम्भ निर्माण गरेको छ ।

करीब रु छ लाखको लागतमा सिंहको आकृतिसहितको लायन्स स्तम्भ निर्माण गरिएको लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमले बताए । सवारी साधनलाई प्रवेश निषेध गरिएको नमूना मार्गमा आकर्षक पानीको फोहरासहित फूल बगैँचा निर्माण गरिएको हो । सो नमूना मार्गमा पानीको फोहरा रहेको पूर्वपट्टि आकर्षकसहितको लायन्स स्तम्भ निर्माण गरिएको छ ।

दमक नगरपालिकाको नमूना मार्ग बनाउने योजनाअनुसार लायन्सले पनि आकर्षक सिंहको मूर्तिसहितको स्तम्भ निर्माण गरिएको अध्यक्ष गौतमले बताए ।

एउटै ढुंगालाई खोपेर निर्माण गरिएको सिंहको मूर्ति स्तम्भ आकर्षण रहेको दमक नगरपालिकाका इञ्जिनियर तीर्थनारायण श्रेष्ठले बताए । लायन्स स्तम्भसहित नमूना मार्गको यही वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।