आर्थिक

सर्टिफिकट धितो राखी ऋण दिन बिद्यार्थी संगथनको अर्थमन्त्रीसंग माग

काठमाडौँ । शैक्षिक प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था यसअघि नै भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा खतिवडाले विद्यार्थी संगठनको माग सम्बोधन गर्न आफू र वर्तमान सरकार तयार रहेको बताए।

ज्ञापनपत्र बुझाउन पुगेका अनेरास्ववियू (क्रान्तिकारी)का महासचिव उत्तम अधिकारीले आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माणको तयारी भइरहेको बेला शैक्षिक प्रमाणपत्र धितोमा राखी निब्र्याजी ऋण उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए । ज्ञापनपत्र बुझाउन अनेरास्ववियू, नेपाल विद्यार्थी संगठन, अखिल (क्रान्तिकारी) लगायत विद्यार्थी संगठनका नेता मन्त्रालय पुगेका थिए ।