समाचार

महायज्ञमा साढे दुई करोड रुपैयाँ बराबरको दान

रामपुर, पाल्पा । उद्बुद्ध मावि पूर्वखोला गाउँपालिका–३ रिङ्नेरह पाल्पामा चलेको श्रीमद्भागवत ज्ञान महायज्ञमा रु साढे दुई करोड बराबरको दान संकलन भएको छ ।

उद्बुद्ध मावि तथा कलेजको शैक्षिक व्यवस्थापन तथा स्तरोन्नतिका लागि सञ्चालन भएको महायज्ञमा नगद तथा जिन्सी दान गरी सो रकम दान रकम संकलन भएको हो । गत वैशाख ९ गतेदेखि शुरु भएको महायज्ञ अवधिभर १८ पुराणका ज्ञाता बालब्यास पण्डित नारायण न्यौपानेले संगीतमय शैलीमा कथा वाचन गरेका थिए । महायज्ञ अवधिभर व्रतबन्ध, रुद्री, तुलादान, चौरासी पूजासमेत भएको उद्बुद्ध कलेजका प्रमुख सुशील आचार्यले बताए ।

महायज्ञ समापनका अवसरमा प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले यस महायज्ञले शैक्षिक विकासमा ठूलो टेवा पुग्ने बताउँदै विद्यालयको शैक्षिक, भौतिकलगायतका विभिन्न क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने बताए ।

उनले गेझा वीरकोट पूर्वखोला हुँदै दुम्किबास जोड्ने सडक दुई लेनमा विकास गर्न प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताए । पाल्पा जिल्ला समन्वय समितिका सदस्य ईश्वरी न्यौपाने, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागरथी भट्टराई, समाजसेवी देवराज ढकाललगायतले यस महायज्ञबाट उठेको रकमले शैक्षिक क्षेत्रमा ठूलो सहयोग पुगेको बताए ।

‘अन्ततः’ गजल संग्रह बजारमा

साहित्यकार तथा प्राध्यापक पुष्कर अथक रेग्मीद्वारा लिखित गजल संग्रह ‘अन्ततः’ बजारमा आएको छ । पाल्पाको तनसेनमा आयोजित एक कार्यक्रमका बीच गजलकार बुँद रानाले नवौँ कृतिका रुपमा ‘अन्ततः’ को विमोचन गरे ।
साहित्य तथा स्वास्थ्य प्रतिष्ठानद्वारा प्रकाशित गजल संग्रहमा राजनीतिक, यौन, स्मरण जस्ता परिस्थितिबोधक विम्बको प्रयोग गरेको पाइन्छ । यस संग्रहमा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिमाथि व्यङ्ग्य गरिएको छ ।

विमोचन समारोहमा गजलकार तथा कार्यक्रमका प्रमुख अतिथि रानाले नेपाली वाङ्मयको वर्ण विन्यासमा देखा परेको अराजकता साहित्यमा पनि देखा परेको बताउनुभयो । पछिल्लो समयमा साहित्यमा विकृति आएकाले यसको अन्त्य गरिनुपर्नेमा पनि जोड दिए । गजलकार रानाले साहित्य र स्वास्थ्यको सम्बन्ध सुमधुर रहेको बताए ।

साहित्यकार रमेश समर्पणले लेखक रेग्मी सधैँ समसामयिक रुपमा प्रस्तुत हुँदै आएको बताए । लेखक रेग्मीका हरेक कृतिले समसामयिक परिस्थितिलाई सम्बोधन गर्दै आएको उनको भनाइ छ ।

गजल संग्रहका समीक्षक तथा साहित्यकार कमल खत्रीले लेखक रेग्मीका हरेक कृति समय सान्दर्भिक र रोचक रहेको बताउँदै लेखक पछिल्लो समयमा छुट्टै विषयमा प्रस्तुत भएको पनि बताएका छन् । छन्दविहीन छन्दको मान्यता कृतिमा प्रयोग भएकाले यसले थप साहित्यमा योगदान दिएको बताउँछन् ।

लेखक रेग्मीले खोज अनुसन्धान, अपसोच, अवलोकन, आमा, अग्रदूत, अमृताञ्जली, अठार, अन्तराललगायतका जीवनी, कथा संग्रह र उपन्यास प्रकाशित गरिसकेका छन् । सामाजिक, साहित्य, शैक्षिक क्षेत्रमा चर्चा कमाइसकेका र लोकप्रिय बनेका रेग्मीले नवौँ कृतिका रुपमा ‘अन्ततः’ बजारमा ल्याएका हुन् ।