पर्यटन/संस्कृति

एक दर्जनभन्दा बढी गीतसहित एकल साँझमा थकाली

पोखरा । पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकाली वसन्त रुविना फाउण्डेशनको आयोजनामा शनिबार पहिलो पटक एकल साँझमा झुल्किएका छन् ।

रत्न रेकर्डिङ संस्थानबाट प्रथम पटक रेकर्ड गरिएको गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट साङ्गीतिक यात्रामा आफूलाई अगाडि बढाएका थकालीले एकल साँझमा उक्त गीतसँगै ‘जोमसोममाथिको ठिनी गाउँ’, ‘गाउँघरको झिल्के मत’, ‘बाँचुन्जेल जे छ हजुर’, ‘झल्को उही दिनको’, ‘मेरो देश नेपाल’ लगायत १३ वटा गीत गाए ।

एकल साँझमा उभिइरहँदा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ५०० जनाको हाराहारीमा दर्शक एवं स्रोताले उनलाई साथ दिएका थिए ।

कार्यक्रमबाट संकलित रकमले फाउण्डेशनमार्फत सङ्गीत एकेडेमी सञ्चालन गरी यस क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट वञ्चित असहाय बालबालिकालाई सहयोग गरिने लक्ष्य लिइएको छ ।

पोखराको चर्चित साहारा क्लबका संस्थापक अध्यक्ष रहेएका थकाली खेल विधाका साथै विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन् ।