देश

काठमाडौँका प्रहरी प्रमुख गर्जिए, अधिकार निर्दयीतापूर्वक प्रयोग गर्ने चेतावनी

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले आक्रामक शैलीमा अभिव्यक्ती दिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख समेत रहेका एसएसपी पोखरेलले राज्यले दिएको अधिकार निर्दयीतापूर्वक प्रयोग गर्न आफू पछि नहट्ने अभिव्यक्ती दिएका हुन् । उनले बर्दी, हतियार र कानुनको प्रयोेग गर्न कुनै कसर बाकी नराख्ने भन्दै उनले भने, ‘हामीलाई राज्यले बर्दी, हतियार र कानुन कार्यान्वयनको अधिकार दिएको छ, त्यसैले बर्दी, हतियार र कानुनको निर्दयीपूर्वक कार्यान्वयन गर्छु ।’

‘विगतमा उठबस गरेका, नातागोता र अन्य फरक प्रसङ्गमा चिनजान भएकाहरुले म बाट कुनै सुविधा र सहुलियत पाउने कुराको अपेक्षा नगरे हुन्छ’ एसएसपी पोखरेलले भने, ‘मेरो मृत्युको दिन मसँग अरु कोही जल्दैनन् त्यसैले कसैले गरेको गलत सिफारिस मेरा लागी स्वीकार्य छैन् ।’

समाज परिवर्तनको प्रचुर खाचो रहेको औल्याउदैँ उनले भने, ‘परिवर्तनका लागी सवैले आ–आफ्नो ठाउँबाट प्रण गर्नुपर्छ ।’

‘गलत गर्नेबिरुद्ध निर्दयीपुर्वक कानुनको प्रयोग गरेमा समाज सुधार्न सकिन्छ’ उनले भने, ‘अन्याय गर्नेलाई बचाईदिन र मुद्दा कमजोर बनाउन मात्र सिफारिस आउने गरेको छ, त्यस्तो गलत सिफारिस गरेर समाजमा शुसासन कायम गर्न सकिँदैन् ।’

नागरिकको सुरक्षा र अपराध नियन्त्रणको सवालमा कसैसँग कम्प्रमाईज नगर्ने उल्लेख गर्दै उनले भने, ‘मेरो बोली र कामको मनिटर गर्नुस्, यदि म कतै चुकेको तपाईले देख्नुभयो भने प्रहरीमा रहन्नँ ।’

एसएसपी पोखरेलले अपराध नियन्त्रणका लागि प्रहरीले जनतासँग हातोमालो गर्नु पर्ने भनाई राखेका थिए ।