पु.समाचार

आर्थिक विकासलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने : अर्थविद्

काठमाडौँ । अब आउने सरकारको नीति तथा कार्यक्रम वर्तमान संघीय संविधान, सत्तारुढ दलको घोषणापत्र तथा दिगो आर्थिक विकासलाई केन्द्रित गरेर ल्याउनुपर्नेमा विभिन्न अर्थविद्ले सुझाव दिएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनीहरुले देशको कूल बजेटको आधा अंश तल जाने भएकाले नीति तथा कार्यक्रममा ‘ट्रान्सफर पोलिसी’ अनुसार हुनुपर्ने धारणा व्यक्त गरे ।

उनीहरुले भारत र चीन दुवै उदीयमान अर्थतन्त्र भएका मुलुकसँग पञ्चशीलका आधारमा सम्बन्ध कायम गरी नेपालले उनीहरुले हासिल गरेको समृद्धिबाट पाठ सिक्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

अर्थविद् डिल्लीराज खनालले आर्थिक सामाजिक रुपान्तरण गर्ने खालको नीति तथा कार्यक्रममा समेटिनुपर्ने र यसलाई प्रचारबाजीका रुपमा अभियान सञ्चालन गर्न नहुने बताए । नेपालको उद्योगधन्दा धराशायी भएको र पूर्वाधार असन्तुलित अवस्थामा रहेको टिप्पणी उनले गरे ।

पूर्वराजदूत राजेश्वर आचार्यले प्रधानमन्त्रीले गरेको पहल सराहनीय रहेको बताउँदै भारत र चीनको विश्वास जित्ने काम वर्तमान सरकारले गर्नुपर्ने सुझाव दिए । भारत र चीनको विश्वास जित्नसके नेपालको समृद्धि विकास एक दशकमै हुने उनको ठोकुवा थियो ।

पूर्व गभर्नर दीपेन्द्र क्षेत्रीले गत वर्ष आर्थिक वृद्धि दर ७.३ प्रतिशत रहेकामा यो वर्ष ६.० प्रतिशत हुने बताउँदै केन्द्रीय बजेटको ५० प्रतिशत बजेट स्थानीय तहमा जाने भएकाले यसपालिको बजेट अलि फरक ढंगको हुने बताए । उनले भारत र चीनसँग पञ्चशीलका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने सुझाव दिए ।

पूर्वअर्थमन्त्री शंकर कोइरालाले अर्थ मन्त्रालयको बोझ कम गर्न वित्तीय आयोग गठन गर्नुपर्ने सुझाव दिए । उनले केन्द्रको आर्थिक अधिकार कटौती भएकाले केन्द्र सरकारले काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।