खेलकुद

मुख्यमन्त्री राईद्धारा प्रदेशस्तरीय फुटवलको उद्घाटन

संखुवासभा । चैनपुर नगरपालिकाद्वारा आयोजित प्रदेश नंं १ स्तरीय ‘मेयर गोल्डकप फुटवल’ प्रतियोगिताको मुख्यमन्त्री शेरधन राईले रेफ्रीलाई बल पास गरेर खेलको शुभारम्भ गरेका थिए ।

सो अवसरमा उनले जोगबनी–किमाथाङका सडकको माध्यमबाट दूई ठुला छिमेकी राष्ट्रहरुलाई जोडेर प्रदेश नं.१ को एक समृद्ध जिल्लाको रुपमा संखुवासभालाई स्थापित गर्न आफू लागिपर्ने बताए ।

संखुवासभाको रंगशाला प्रदेश नं १ कै उत्कृष्ट रंगशाला भएको हुँदा प्रदेश सरकारले आफ्नो वार्षिक बजेटमा पहिलो प्राथमिकताका साथ रंगशालाको स्तरोन्नतिका लागि लागिपर्ने मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले प्रदेश नं. १ को राजधानी इटहरीलाई बनाउने सरकारले तयारी गरिरहेको समाचारमा सत्यता नरहेको बताउँदै प्रदेशको राजधानी सार्ने विषयमा राजनीतिक दलहरुको सहमतिबिना प्रदेश सरकार अगाडि नबढ्ने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन र राजधानीको विषयमा वृहत सहमतिकासाथ अगाडि बढ्ने बताए ।

संघीय संसदका सांसद राजेन्द्रप्रसाद गौतमले जोगबनी–किमाथाङका नाकालाई चाँडो सञ्चालनमा ल्याउन वातावरण मिलाउन आग्रह गरे ।

संखुवासभासहित आठ जिल्लाबाट खेलाडी सहभागी भएको प्रतियोगिताअन्तर्गत आजको पहिलो खेल आयोजक चैनपुर नगरपालिका र षडानन्द नगरपालिका, भोजपुरकाबीच भएको थियो ।