खेलकुद

ट्राइयथलनमा मनिचन्द्र र समिराले जिते स्वर्ण

पोखरा । भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौँ दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसिपमा प्रथम स्थान हात पार्दै स्वर्ण पदक जित्न सफल भएका छन् ।

ट्राइयाथलनअन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साइक्लिङ १० किमी र दौड पाँच किलोमिटरको दूरी मनिचन्द्रले ५८ मिनेट दुई सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् ।

भारतकै विश्वरजित साइखाम ५९ मिटर ५७ सेकेण्डका साथ रजत र नेपालका वसन्त चौधरीले एक घण्टा एक मिनेट दुई सेकेन्डका साथ कास्य पदक हात पारे ।

महिलातर्फ उक्त दूरी समिराले एक घण्टा चार मिनेट ५० सेकेण्डमा पूरा गरिन् । दोस्रो भएकी भारतकै प्रग्न्या मोहनले एक घण्टा आठ मिनेट र ४२ सेकेण्ड र तेस्रो भएकी नेपाली खेलाडी सोनी गुरुङले एक घण्टा १३ मिनेट आठ सेकेण्डमा पूरा गरिन् ।

प्रतियोगिताको खुला पुरुषतर्फ पनि तीनैजना खेलाडी मनिचन्द्रले स्वर्ण, विश्वरजितले रजत र वसन्त चौधरीले कास्य पाए । महिलातर्फ स्पेनकी ईश्वराले स्वर्ण हात पारिन् । उनले उक्त दूरी एक घण्टा तीन मिनेट ३४ सेकेण्डमा पूरा गरेकी हुन् । दोस्रो स्थानमा भारतकी समिरा र तेस्रो स्थानमा प्रग्नया रहेका थिए ।

नेपाल पर्वतीय खेलकूदअन्तर्गत भएको प्रतियोगिताको आठौँ राष्ट्रिय ट्राइयाथलन प्रतियोगितातर्फ पुरुषमा नेपाली सेनाले वर्चस्व जमाएको छ ।

सेनाका वसन्त चौधरीले एक घण्टा एक मिनेट दुई सेकेण्डमा स्वर्ण हात पार्दा दिपेश चौधरीले एक घण्टा एक मिनेट १८ सेकेण्डमा रजत र रुद्र कटुवालले एक घण्टा चार मिनेट ४३ सेकेण्डका साथ कास्य पदक प्राप्त गरेका थिए ।

त्यस्तै महिलातर्फ एपिएफकी सोनी गुरुङले एक घण्टा १३ मिनेट आठ सेकेण्डका साथ स्वर्ण, गोहाटीमा सम्पन्न दक्षिण एशियाली खेलकूदमा व्यक्तिगततर्फ कास्य र टिम स्पर्धामा रजत पदक प्राप्त काठमाडौँकी रोजा केसीले एक घण्टा १७ मिनेट ३३ सेकेण्डका साथ रजत र सेनाकी यामकुमारी भुजेलले एक घण्टा २४ मिनट एक सेकेण्डमा लक्ष्य पूरा गरी कास्य पदक प्राप्त गरेका थिए ।

पोखराको रमणीयस्थल लेक साइडमा भएको प्रतियोगिताको पाँच किमी दौड २० किमी साइक्लिङ र २।५ किमी दौड सेनाका मानबहादुर थापाले जिते । उनले उक्त दूरी ५४ मिनेट १७ सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पार्न सफल भए ।

एपिएफका किरण मल्लले ५५ मिनट ३९ सेकेण्ड र लक्ष्मण मल्लले ५५ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै रजत र कास्य पदक प्राप्त गरेका थिए ।

महिलातर्फ दुई खेलाडीको मात्र प्रतिष्पर्धा भएकामा एपिएफकी हुमा बुढा मगरले आफ्नै क्लबकी प्रतिमा चौधरीलाई पछि पार्दै स्वर्ण हात पारिन् । हुमाले एक घण्टा १० मिनेट नौ सेकेण्ड र प्रतिमाले एक घण्टा १५ मिनेट २३ सेकेण्डमा दूरी पूरा गरेका थिए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले विजयी खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्दै पोखरामा २५ हजार दर्शक क्षमताको रंगशाला छ महिनाभित्र तयार गरी सञ्चालनमा आउने बताए ।
कार्यक्रममा प्रदेश नं ४ का सांसद कृष्ण थापा, सांसद दीपक कोइराला, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराललगायतले मुलुक संघीयतामा गएसँगै खेलकूदको महत्व बढेको उल्लेख गरे।