समाचार

विवाह मण्डपबाटै दुलाहा दुलहीलाई लाग्यो हतकडी

रुकुम । जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम, बैशाख १५ । जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ ।

गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो ।

बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले दुलाहा दुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो ।

केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो ।

सानीभेरी गाउँपालिका वडा नं १० अर्माका १८ वर्षीय बालक र सानीभेरी वडा नं ७ जैधुनेकी १७ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको सिम्ली प्रहरी चौकीका प्रमुख गगनसिंह ठकुरीले जानकारी दिए ।

उनका अनुसार केटीका अभिभावक शिक्षक हुन । शिक्षित परिवारबाटै यसरी बालविवाह हुनु दुखद भएको उनको भनाइ छ । माइती घरमा विवाह अन्तिम चरणमा पुग्दै गर्दा प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरीले दुलाहा दुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ । विवाह रोकी केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ ।

अशिक्षितभन्दा शिक्षित परिवारबाटै बालविवाह हुने गरेको प्रहरीको भनाइ छ ।

सरकारले केटाकेटी दुवै २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनेको छ ।

बालविवाह भएका प्रकृति हेरी छ महिना वा एक वर्षसम्म कैद हुन सक्ने कानूनी व्यवस्था छ ।