समाचार

प्रधानमन्त्री ओलीले डाक्टरहरुको अगाडी जब आफ्नो पुण्यतिथीको कुरा गरे !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू सक्रिय भएर देशको नेतृत्व गर्न सक्नुका पछाडि डाक्टरहरुको ठूलो मेहनत रहेको बताएका छन् । नेपाल प्रत्यारोपण समाजको प्रथम तथा सार्क नेफ्रोलोजी, युरोलोजी तथा ट्रान्सप्लान्टेसन सोसाइटीको ११औं सम्मेलनको राजधानीमा उद्घाटन गर्दै ओलीले मेडिकल साइन्स र डाक्टरहरुकै कारण आफू सक्रिय जिवन बिताइरहेको बताएका हुन् ।

११ वर्ष पहिले आफ्नो मिर्गौला प्रत्यारोपण गरिएको स्मरण गराउदै ओलीले भने, ‘तपाईहरु नभएको भए अहिले मेरो ११ औं पुण्यतिथी भइसक्थ्यो । ’ ओलीको सन् २००८ मा भारतको नयाँ दिल्ली स्थित अपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । नेपालमा त्यति बेला मिर्गौला प्रत्यारोपण सेवा नभएकाले प्रत्यारोपणकालागि भारत जानु परेको ओलीले बताए । आफुलाई डाक्टरहरुले जिवनदान दिएकाले उहाँहरुका कुरा सधै सुन्ने र सकेसम्म पालना गर्ने गरेको उनले बताए ।

पछिल्लो एक दशकमा मिर्गौला प्रत्यारोपणको क्षेत्रमा नेपालले उल्लेखनिय प्रगति गरेकोमा खुशी व्यक्त गर्दै एक हजार जनाको स्वदेशमै मिर्गौला प्रत्यारोपण हुनु चानचुने कुरा होइन । ‘ मिर्गौला प्रत्यारोपी देशको प्रधानमन्त्री हुनु यो क्षेत्रका लागि सकारात्मक सन्देश हो । ’ आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला मिर्गौला फेल भएका बिरामीहरुका लागि डाइलासिस सेवा निशुल्क गरेको स्मरण गर्दै अव पनि मिर्गौलाका विरामीको हित हुने काम गर्ने प्रतिवद्घता जनाए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले नेपालमा ३० हजारको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने अवस्था भए पनि एक हजारको मात्र प्रत्यारोपण गरिएको बताउदै यसलाई व्यापक बनाउदै लैजानु पर्नेमा जोड दिइन । उनले भनिन, ‘ प्रत्यारोपण र डाइलासिस निशुल्क भएपनि प्रत्यारोपण पछि खानु पर्ने महंगो औषधिका कारण समस्या भएको छ । यस बिषयमा सरकारले छलफल गरिरहेको छ । चाडै ठोस निर्णय गर्छौ । ’

नेपाल प्रत्यारोपण समाजका अध्यक्ष डा.भोलाराज जोशीले प्रत्यारोपणका क्षेत्रमा अहिले भइरहेका उपलब्धिमा मात्र सन्तोष मान्नु पर्ने अवस्था नभएको बताए । सम्मेलनमा सार्क राष्ट्र र नेपालका गरि करिव एकसय ५० नेफ्रोलोजिस्टहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।