स्वास्थ्य

मदिराले शरीर मात्र नभई मुखपनि बर्बाद गर्छ !

काठमाडौं । अल्कोहल सेवनले शरीरमा मात्र नभई मुखमा पनि विभिन्न समस्या देखिने गर्छ । बेलायतबाट प्रकाशन हुने जर्नल बिएमसीका अनुसार अल्कोल सेवन गर्ने मानिस सात सय प्रकारका कीटाणुबाट संक्रमित हुन्छन् । अत्यधिक मदिरा सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको अनुसन्धानले पत्ता लगाएको छ । अमेरिकामा अल्कोहल सेवन गर्ने, नगर्ने र कम मात्रामा गर्ने १० हजार ४४ जनामा यस्तो अनुसन्धान गरिएको नयाँ पत्रिकाले लेखेको छ । यी हुन् अनुसन्धानका निष्कर्षः

नियमित अल्कोहल पिउने मानिसमा क्यान्सर, हृदयाघात, मस्तिष्क, कलेजो, पाचन प्रणालीसम्बन्धी रोगको जोखिम हुन्छ ।

अनुसन्धानले रक्सी खाने मानिसमा मुख क्यान्सरको सम्भावना अत्यधिक हुने पत्ता लगाएको छ । त्यस्तै, अल्कोहलले पाचन प्रणाली र फोक्सो क्यान्सरको सम्भावना पनि अत्यधिक रूपमा बढाउँछ ।

अत्यधिक अल्कोहल सेवन गर्ने मानिसको आकस्मिक मृत्यु हुने गरेको पनि अनुसन्धानले देखाएको छ ।

सामान्य मानिसभन्दा बढी अल्कोहल सेवन गर्ने मानिसमा उच्च रक्तचापको सम्भावना पनि अत्यधिक हुने गरेको अनुसन्धानको निष्कर्ष छ ।

अल्कोहलिकहरू मधुमेह, मुटुरोगलगायतका समस्याबाट पनि ग्रसित हुन्छन् ।

अत्यधिक अल्कोहल पिउने व्यक्तिमा मानसिक समस्याको जोखिम पनि उत्तिकै हुने गर्छ । मानिसले तनाव कम गर्ने निहुँमा अल्कोहलको सहायता लिने गर्छन् । तर, समस्या के भने यसले मस्तिष्कलाई नै अत्यधिक असर पार्ने गर्छ ।

केही मात्रामा अल्कोहलको सेवन गर्नु फाइदाजनक हुने धेरैमा भ्रम हुन्छ । तर, यसको स्वास्थ्यमा कुनै फाइदा छैन । बरु अल्कोहलकै कारण शरीर शिथिल हुने, निद्रा नपर्ने, मनमा बढी कुरा खेल्नेजस्ता समस्या हुन्छ ।