अन्तर्राष्ट्रिय

दुई कोरियाको भेटवार्ताको विभिन्न देशहरुद्वारा स्वागत

वासिङटन । शुक्रबार दुई कोरियाका शिर्ष नेताबीच शिखर बैठक भएकोमा विभिन्न देशले स्वागत गरेका छन् । अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको शुक्रबारको भेटवार्तालाई “ऐतिहासिक र सुखद्” भनेको छ ।

दुई देशको शिखर बैठकले जनताको शान्ति र सम्वृद्धिका लागि भविष्यमा उपलब्धि हासिल हुने अपेक्षा अमेरिकाले गरेको छ ।

ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा किम–मुन शिखर बैठकपछि किमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेट्नेगरी तयारी भइरहेको उल्लेख गरिएको छ ।

त्यसैगरी अष्ट्रेलियाले पनि दुई कोरियाको भेटावार्तालाई निकै सकारात्मक सन्देशका रुपमा लिइएको बताएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले पनि दुई देशले आपसी समझदारीका साथ अगाडी बढ्ने वातावरण बन्ने प्रयास हुने विश्वास व्यक्त गरेका छन् ।