आर्थिक

मेगा बैंकको नाफा ५२ प्रतिशतले बढ्यो

काठमाडौं, १५ बैशाख । मेगा बैंक नेपाल लिमिटेडको संचालन मुनाफा १ अर्ब ४ करोड रुपैँया पुगेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा मेगा बैंकको संचालन मुनाफा ६८ करोड १९ लाखबाट बढेर १ अर्ब ४ करोड पुगेको हो । जुन ५२ दशमलव ९७ प्रतिशतको वृद्धि हो । कुल संचालन आम्दानी ५३ दशमलव ३४ प्रतिशतले बढेको मेगा बैंकले जनाएको छ ।

यसैगरी, दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद ब्याज आम्दानी ५३ दशमलव ७१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी दोस्रोमा ८४ करोड ६३ लाख रहेकोमा तेस्रो त्रैमासिकमा १ अर्ब ३० करोड पुगेको हो ।

तेस्रो त्रैमासिकसम्म आइपुग्दा बैंकले ५२ करोड ४९ लाख मुनाफा आर्जन गरेको छ । पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख कमाएकोमा दोस्रोमा पुग्दा ३९ करोड ३६ लाख मुनाफा पुगेको थियो ।

मर्जरकै कारण केही बैंकहरुको वित्तीय विवरणहरुमा सुधार देखि रहँदा टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको वित्तीय आकार र सूचकहरु पनि थप सुदृढ हुने देखिएको छ । नेपाल राष्ट्र बैंकका साथै कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेको मेगा बैंक र टुरिजमबीच यथाशिघ्र संयुक्त कारोबारको तयारी भइरहेको बैंक स्रोतले बताएको छ ।

‘मर्जरपछि मेगा बैंक पुँजीका आधारमा नेपालकै ठूलो बाणिज्य बैंक मध्येको एक बन्नेछ, हाम्रो नेटवर्क र व्यापार पनि बढ्नेछ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भन्नुभयो, ‘हाम्रो पहिलो प्राथमिकता मर्जर नै हो । संयुक्त कारोबारमा केही ढिलाई नभएको भए बैंकको नाफा तथा अन्य सूचकांकमा अझ सकारात्मक प्रभाव पर्ने थियो, अब मर्जरपछि बैंकले नयाँ गति पाउने छ ।’