मनोरञ्जन

’हैरान’ ले प्रतिभाको खोजि गर्दै, विजेतालाई १ लाख

काठमाडौं । जेठ ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ’हैरान’ ले प्रतिभाको खोजि गर्ने भएको छ । हैरानले नृत्य , अभिनय र गायन विधामा प्रतिभाको खोजि गर्ने भएको हो । हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले ’राष्ट्रिय प्रतिभाको खोजि’ यही वैशाख २० गते झापाको अडिसनबाट सुरु गर्नेछ ।

प्रतिभालाई प्रोत्साहन गर्ने गरी देशको विभिन्न भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान शुरु गर्न लागिएको फिल्म निर्माता तथा कलाकार गजित विष्टले बताए । २० गते झापाको विर्तामोडवाट सुरु गरिने अडिसन २१ गते विराटनगर, २२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।

तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् । छनौट चरणमा प्रतियोगिले एउटा हैरानको एक र आफुले नै छनौट गरेको अर्को गितमा २ मिनेट आफ्नो प्रस्तुति दिनु पर्नेछ ।

प्रतियोगिताका निर्णायकको रुपमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् । फिल्म ’हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् ।