देश

नेपालको सिमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको दादागिरी

काठमाडौं । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नजिकिदै गर्दा कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास क्षेत्रमा भने भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादती बढेको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले जङ्गली जनावरको आतंकबाट बच्न लगाएको तारबार उखेलेर फालिदिएको छ । भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावर नियन्त्रण गर्न विद्युतीय तारबार लगाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको हो ।

नेपाल–भारत सीमा पिल्लर १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउन खोजेको तारबार भारतीय पक्षले निकालेर फालिदिएको हो ।

‘हतियारसहित भारतीय एसएसबी आएर तारबार निकालेर फालिदियो’ पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायण प्रसाद जैशीले भने,‘ वर्षेनी जङ्गली जनावरले दिँदै आएको दुःख रोक्नका लागि तारबार लगाउन लागेका थियौं’ ।

एसएसबीको ३९ औं बटालियन अन्तर्गत घोला क्याम्पबाट सयौंको संख्यामा आएका भारतीय सीमा सुरक्षा बलको टोलीले नेपाली पक्षले लगाएको तारबार निकालेर फालेको हो । ‘यो सीमा क्षेत्रमा तारबार लगाउन पाइदैन भन्दै धम्की दिएर भत्काइयो’ वडा अध्यक्ष जैशीले भने,‘नेपाली प्रशासनले आग्रह गर्न खोज्दा समेत एसएसबीले अटेरी गर्‍यो’ ।

पुनर्वास नगरपालिका ९ बीचफाँटामा नेपाली पक्षले आफ्नै भूमिमा ३२ मिटर तारबार लगाउन लागेको हो । २९ सय मिटरसम्म तारबार लगाइसकेपछि बाँकी भू–भागमा लगाउन लागेका बेला एसएसबीले अबरोध गरेको हो । स्थानीयले ८र८ हजार रकम उठाएर तारबार लगाउन थालेका हुन् ।

‘वडा कार्यालयबाटसमेत ६ लाख रकम विनियोजन गरिएको हो’ वडा अध्यक्ष जैशीले भने,‘ विभिन्न संघसंस्थाको समेत सहयोगमा जङ्गली जनावरको आतंक रोक्नका लागि तारबार लगाउन खोजिएको हो’ । स्थानीयले पिल्लर नम्बर १८३ देखि १९१ सम्म १ किलोमिटर क्षेत्रमासमेत तारबार लगाएका छन् । भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले अन्नबाली नष्ट गर्दै आएको छ ।

पुनर्वास नगरपालिका, विभिन्न संघसंस्था र स्थानीयलेसमेत रकम उठाएर सौर्य उर्जामा आधारित विद्युतीय तारबार बनाउन सुरुवात गरिएको थियो । तारबार लगाउनु अघि दुवैपक्षबीच सहमति भएर काम अघि बढेपनि अन्तिममा आएर एसएसबीले अवरोध गरेको हो । पुनर्वासको सीमावर्ती क्षेत्रमा सीमा विवाद रहेको भन्दै एसएसबीले पटक–पटक अवरोध गर्दै आएको छ ।

स्थानीयले पुनर्वास क्षेत्रमा तत्काल सीमा सर्भे हुुनुपर्ने माग राखेका छन् । ‘गतवर्षसमेत सीमा विवादमै गोविन्द गौतमले ज्यान गुमाए’ स्थानीय पत्रकार हेमन्त न्यौपानले भने,‘ पटक–पटक हुने यस्ता विवाद अन्त्य गर्न तत्काल समाधान हुुनुपर्छ’ । उनले उच्चस्तरीय सीमा सर्भे टोली आएर सीमा समस्या समाधान हुनुपर्ने बताए । पुनर्वासमा गतवर्ष भएको घट्नापछि संयुक्त सर्भे टोली आएपनि सर्भे नगरेरै फर्किएको थियो ।

भारतीय प्रधानमन्त्रीले २ सातापछि गर्न नेपाल भ्रमणमा सीमामा भारतीय पक्षबाट हुने गरेको ज्यादतीका विषयमा गम्भिर रुपमा वार्ता हुनुपर्ने स्थानीयको माग छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीका बारेमा भारतीय अधिकारीहरुसँग छलफल भएको बताए ।

गतवर्ष पुनर्वास नगरपालिका ८ मै कल्र्भट निर्माण गर्ने विषयमा विवाद हुँदा गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर मारिएका थिए । उक्त घट्नापछि पनि बारम्बार सीमा क्षेत्रमा भारतीय पक्षबाट ज्यादती हुदै आएको छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट ।