खेलकुद

आइएमई ओपन लन टेनिस जेठमा

काठमाडौं । आगामी जेठमा फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने भएको छ । नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) र जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिता आगामी जेठ ३ गतेदेखि १२ गतेसम्म राजधानीका विभिन्न स्थानमा हुन लागेको एक कार्यक्रममा जानकारी दिईएको हो ।

टेनिस खेलको दिगोविकासमा सहयोग पुर्याउने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना लागिएको आइएमई फाउन्डेसनका सदस्य सचिव श्रीमती अन्जली अर्याल (ढकाल), अल नेपाल लन टेनिस एसोसियसनका महासचिव मनोहर दास मोल, जेटीआई संयोजक कृष्ण राज घले र आइएमई गु्रपका जनसम्पर्क प्रमुख राजु पौडेलले कार्यक्रमा जानकारी दिईएको थियो ।

काठमाडौंस्थित नाउलिङ्ग स्पोर्टस भिल्ला र मण्डीखाटार टेनिस क्लबमा आठ, नौ, दश, बाह्र र चौध वर्षमूनिका बालबालिकाहरुका लागि उक्त प्रतियोगिता आयोजना हुनेछ ।

विभिन्न उमेर समूहका प्रतिष्पर्धीहरू मध्येवाट प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई पुरस्कारको ब्यवस्था गरिएको छ । खेलाडीहरूले नाउलिङ्गस्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र मण्डीखाटार टेनिस क्लबका अतिरिक्त अल नेपाल लन टेनिस एसोसियसन सातदोबाटोमा आफ्नो आवेदन दर्ता गर्न सकिनेछ । प्रतिष्पर्धीहरूले जेठ २ गतेसम्म कार्यालय समयमा आवेदन दिन सक्नेछन् ।