राजनीति

काँग्रेस कार्यकर्तालाई निराश नहुन आग्रह

चितवन । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै राजनीतिक उपलब्धि काँग्रेसले युद्ध जितेर हासिल गरेको तर अहिलेको निर्वाचनको लडाइँ मात्रै हारेकाले कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् ।

काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको संगठन सुदृढीकरण तथा पुनःजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दै गर्दा अनेकौंँ लडाइँ हारेको तर युद्ध जितेको बताए ।

उनले भने, “अब पाँच वर्ष काँग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोक हुँदैन । हामी सबै आस्थाका कारणले काँग्रेसमा लागेको हो ।” थापाले निर्वाचनमा जित र हार जे भए पनि जुन ठाउँमा निर्वाचन लडेको छ, त्यो ठाउँको छाया सरकारको रुपमा काम गर्नुपर्छ भने ।