देश

हाम्रो नाममा उठाएको राहत खोइ ?

–रामचन्द्र न्यौपाने

त्रिपुराकोट डोल्पा । “हे हजुर तपाई काँ देखि आका हौ राहत ल्याएर आउने मान्छे भेटाउ कि नाइ राहत आउँछ भन्छन् तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो ।

आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर बस्नु र गाउँमा आएका नयाँ मानिसलाई आफ्नो भग्नावशेष घर देखाएर प्रतिप्रश्न गर्नु डोल्पा मुड्केचुला गाउँपालिका– ९ होर्तका ३९ वर्षीया दत्त बुढाको आजभोलि दैनिकी जस्तै बनेको छ ।

“हाम्रो नाममा धेरैले राहत उठाएको सुनेका छौं, तर अहिलेसम्म कसैले पनि राम्रो सहयोग गरेका छैनन् हाम्रो नाममा उठाएको राहत पनि काठमाडाँैलगायतका शहरमा बेचेर खाइसके रे खै कहिले राहत पाइएला हामी त घर न घाटका भयांै अर्की आगलागी पीडित नैनासरा बुढाले दुखेसो पोखिन” ।

विसं २०७४ पुस २४ गते भएको भीषण आगलागीबाट मुड्केचुला गाउँपालिका–९ होर्त गाउँका नैन बुढा, दत्त बुढा, कन्नगिरी बुढा, पुन्न बुढा र दलजीत बुढाको पाँचवटा घर पूर्णरुपमा भग्नावशेष बनेका थिए ।

आगलागीबाट घर, घरभित्र राखिएको अन्नपात लत्ताकपडा र चलअचल सम्पत्ती सबै गुमाएर बेघर बनेका अग्निपीडित यत्तिखेर आफन्त र गाउँलेहरुले उठाउँदै आएको मानोपिठोबाट बिहान बेलुकाको गर्जो टार्दै आएका छन् ।

आगलागी भएको चार महिनासम्म पनि ओत लाग्ने सम्मको टहरो बनाउन नसकेपछि पीडित आफन्तकै घरमा बसेर सहरा लिइरहेका छन् ।

सदरमुकाम दुनैदेखि दुई दिनको पैदलयात्रापछि पुगिने विकट र पिछडिएको गाउँ होर्तमा बसोवास गर्ने आर्थिक विपन्न समुदायका आगलागी पीडित यत्तिखेर राहतको प्रतिक्षामा छन् ।

जिल्ला प्रशासन कार्यालय डोल्पाबाट अहिलेसम्म आफूहरुले राहतबापत २७ हजार पाँच सय, नेपाल तरुण दल डोल्पाबाट कम्बल र बालबालिकालाई कपी, कलमलगायतका शैक्षिक सामग्री पाएको बताए ।

वडा नं ९ होर्तका अध्यक्ष जयप्रसाद बुढाले आगलागी पीडितको नाममा धेरैले धेरै ठाउँबाट नगद तथा जिन्सी सामग्री उठाएको खबर आफूले पाएको तर अहिलेसम्म कसैले पनि पीडितलाई उपलब्ध नगराएकाले छानबिन थालनी गरिएको बताउनुभयो ।

कसले कसरी राहत उठाइरहेका छन् भनेर बुझ्नुका साथै उठाएको राहत पीडितकहाँ सजिलोसँग पुगोस् र दुरुपयोग नहोस् भनेर राहत वितरण प्रक्रिया एकद्वार प्रणालीमा ल्याइएको उहाँको भनाइ छ ।

मुड्केचुला गाउँपालिकाका प्रमुख दत्तबहादुर शाही अग्निपीडितलाई प्रति घर रु ७० हजारका दरले घरको जग उठाउनका लागि राहतस्वरुप सहयोग गरिने नगरसभाले निर्णय गरेको बताउनुभयो ।

डोल्पा आफैमा विकट तथा दुर्गम भएकाले निर्माण सामग्री जम्मा गर्न समस्या पर्नुका साथै महँगोसमेत भएकाले घर ठड्याउन अग्निपीडितलाई गाह्रो भएको बताउँदै सबै सहयोगी हातको सहयोगको खाँचो रहेको पनि गाउँपालिका प्रमुख शाहीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले राहत वितरण गर्दा आफूहरुलाई अन्याय गरेको अग्निपीडित कन्नगिरी बुढाले बताउनुभयो । “हाम्रो लागि भनेर विभिन्न निकायबाट राहत उठाइयो तर पूर्ण क्षति र आंशिक क्षतिको मूल्यांकन नै नगरी हचुवा र राजनीतिक दबाबमा आगोले पीडित नभएकालाई पनि पूर्णक्षति सरह राहत उपलब्ध गराइयो ”उहाँले भन्नुभयो ।

डोल्पालीहरुको वर्षभरिको खर्च आम्दानीको स्रोत मानिने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको तयारीमा गाउँले जुटिरहेको बेला अग्निपीडित भने कहिले घर ठड्याउने भन्ने चिन्तामा छन् ।

अग्निपीडित पुन्न बुढाले भन्नुभयो, “हाम्रो वर्षभरिको खर्च आम्दानी गर्ने सिजन यही हो अहिले कमाइएन भने कहिले कमाउने बरु घर रहन्छ तर रिन सापट गरेर भए पनि यार्सागुम्बा संकलन गर्न वनमा जाने तयारीमा जुटिरहेका छौ ।”

जिल्लामा बेग्रल्ती रुपमा मानवीय सेवा गर्ने भनेर दर्ता भएका गैरसरकारी संस्थाका कार्यक्रम सदरमुकाम दुनै र दुनै आसपासका स्थानीय तहमा केन्द्रीत भए पनि मुड्केचुलाका अग्निपीडितको समस्याप्रति भने उनीहरको ध्यान पुग्न सकेको छैन ।

आगलागीबाट बेघर बनिरहेका होर्त गाउँका पीडित र उनीहरुका बालबालिकाको शैक्षिक समस्या समाधानका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति, जिल्ला रेडक्रस र मानवीय सेवा गर्ने भनेर चर्को नारा दिँदै आएका गैरसरकारीको ध्यान सम्बन्धित पीडित समक्ष पुग्नु जरुरी छ ।