स्वास्थ्य

यसरी देखियो एकसय २० जनामा मुटुको समस्या

मंगलबारे, इलाम । पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला अस्पताल इलाममा भर्खरै सम्पन्न मुटुरोग परीक्षण शिविरमा १२० जना मुटुसम्बन्धी बिरामी पाइएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा इलाम उद्योग वाणिज्य संघको स्थानीय व्यवस्थापनमा सञ्चालित शिविरमा मुटु परीक्षण गराएका एक हजार २७ मध्ये १२० मुटु रोगी भेटिएको अस्पतालले जनाएको छ ।

शिविरमा सेवाग्राहीलाई हृदय केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माको नेतृत्वमा आठ डाक्टरसहित १७ जना चिकित्सकको टोलीले सेवा दिएको थियो ।

मुटु रोगीमध्ये कोहीको भल्व फेर्नुपर्ने, कसैको रगत नली फेर्नुपर्ने र कसैको शल्यक्रिया गर्नुपर्ने अवस्थाका रहेको शर्माले जानकारी दिए । मुटुजाँच गराएकामध्ये प्रतिशतका आधारमा मुटु रोगीको संख्या उच्च भएको डाक्टर शर्माको भनाइ छ ।

शरीर सञ्चालनको सबैभन्दा महत्वपूर्ण अंगका रुपमा मुटुलाई लिइन्छ । यस्तै मुटु रोगीका लागि जोखिम मानिने रक्तचापका बिरामीको संख्या शिविरमा आएकामध्ये करीब ८० प्रतिशतमा पाइएको उनले बताए ।

मुटु परीक्षण गराएकाको मुटुको ढुकढुकी बढ्ने, डर लाग्ने, निन्द्राबाट बिउझिँदा तर्सिनेजस्ता समस्या बढी देखिएको चिकित्सकको भनाइ छ । मुटु रोग जन्मजात, रगत नली बिग्रेरलगायत विभिन्न कारणबाट हुनसक्छ ।

यस रोगबाट बच्नका लागि नियमित व्यायाम गर्नुपर्ने, धुम्रपान र मध्यपानबाट टाढै रहनु पर्ने, सन्तुलित खानपानमा ध्यान दिनुपर्ने, खाना कम गरेर फलफूल, सागसब्जी बढी मात्रामा खानुपर्ने चिकित्सकको सुझाव छ ।