देश

आईजिपी खनाल भन्छन्ः संगठनका नालायक किराहरुलाई तह लगाउनुपर्छ

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताउनुभयो ।

खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम हुँदैन । संगठनमा केही त्यस्ता किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनु पर्छ ।” उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारवाही गरिने बताउनुभयो ।

प्रहरीको दरबन्दी कम रहेको भन्दै उहाँले मौजुदालाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताउनुभयो ।
अर्को एक प्रश्नमा आफू प्रहरी प्रमुख भएपछि जनताले अनुभूति गर्ने गरी काम शुरु गरिसकेको बताउनुभयो । संघीय प्रहरी ऐन बन्दै गरेको भन्दै उहाँले ऐन आएपछि प्रदेश कार्यालयहरु स्थापना हुने र ऐनले निर्दिष्ट गरेअनुसार काम अगाडि बढाइने बताउनुभयो । रासस