देश

३३ किलो सुन प्रकरण बारे बयान दिँदादिँदै गृहमन्त्रालयबाट लापत्ता भएका डिएसपी हात लागे

काठमाडौं । ३३ किलो सुन प्रकरण बारे बयान दिँदादिँदै मंगलबार भागेका डिएसपी सञ्जय राउत पक्राउ परेका छन् । समितिले तथ्य केलाउन प्रयास गर्दा दोषी ठहर हुने देखिएपछि मंगलबार आत्तिएर भागेका उनी बुधबार समितिको सम्पर्कमा आएका हुन् ।

समितिले अहिलेसम्म पक्राउ गरेका राउत दोस्रो ठूला प्रहरी अधिकारी हुन् । यसअघि एसपी विकासराज खनाल पक्राउ परेका थिए। समितिले दोषी ठहर गरेका एसएसपी श्यामबहादुर खत्री अझै सम्पर्कबिहीन छन् । समितिले प्रहरी प्रधान कार्यालयमार्फत उनलाई उपस्थित गराउन पत्राचार गरे पनि उनी सम्पर्कमा आएका छैनन्। अनुसन्धानमा दोषी देखिएका सई बालकृष्ण सञ्जेल तथा गजेन्द्र रावललाई समितिले मोरङ प्रहरीको जिम्मा लगाइसकेको छ ।

बुधबार राती नै पक्राउ परेका उनीसँग बिहीबार बिहान समितिले गृह मन्त्रालयमा बयान लिएको छ । बयान सकिए पछि उनलाइ थप कानुनी कारवाहीका लागि विराटनगर पठाइएको छ ।

सुन तस्करका मतियार डिएसपी गृहमन्त्रालयबाटै भागेको विषय पेचिलो बनेपछि प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न ७७ जिल्लाका प्रहरी इकाईमा सर्कुलर जारी गरेको थियो । उनी बुधबार राती पक्राउ परेका थिए ।