राजनीति

परराष्ट्रमन्त्रीले पार्टी एकताको मिति नै तोके, मोदीको नेपाल भ्रमणबारे यसो भने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । नेकपा एमाले पाल्पाका अगुवा कार्यकर्तालाई तानसेनमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले एमाले र नेकपा माओवादी केन्द्र बीच एकताको लागि अधिकांश विषयवस्तुमा सहमति जुटिसकेको बताएका हुन् ।

उनले केही विषय दुवै पार्टीका अध्यक्षले टुङ्गाउनु पर्ने भएकाले केही दिन ढिलाइ भएको बताउदै भने, पार्टी एकताको विषयमा शंका उपशंका नगर्नुहोस्, हामी चाडै अर्थात वैशाख १८ (मे १०) अन्तर्राष्ट्रीय श्रमिक दिवश वा बैशाख २२ (मे ५) माक्सको जन्मदिनको दिन दुवै पार्टी बीच एकता घोषणा गर्नेगरी तयारी तिब्र पारिएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणबारे बोल्दै बैशाख २८ गते हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भारत भ्रमणको समयमा दुवै देशबीच भएका सहमति व्यवहारिकरुपमा कार्यान्वयनका विषयमा छलफल हुने बताएका छन् । कृषि साझेदारी र रेल सम्भाव्य अध्यनको विषयमा सम्झौता हुने गरी तयारी भएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले भ्रमणका क्रममा संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको भन्ने समाचार विभिन्न मिडियामा आएको भन्दै त्यस्तै कुनै कार्यक्रम नरहेको समेत स्पष्ट पारेका हुन् ।