शिक्षा

पोलिटेक्निकका लागि निःशुल्क ७० रोपनी जग्गा

वालिङ, स्याङ्जा । वालिङ पोलिटेक्निकल इन्स्टिच्युट निर्माणका लागि यहाँका स्थानीयवासीले निःशुल्क ७० रोपनी जग्गा प्रदान गरेका छन् ।

वालिङ नगरपालिका वडा नं। १३ का बाह्रबिसे, मेथीबारी र हुक्सेका ४१ जना स्थानीयबासिन्दाले वालिङ नगरपालिकाले निर्माण गर्न लागेको पोलिटेक्निकल इन्स्टिच्युटका लागि वालिङ नगरपालिकालाई सामूहिकरुपमा निःशुल्क जग्गा उपलब्ध गराएका वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

नगरपालिकालाई प्राप्त भएको ७० रोपनी जग्गाको स्थानीय चलनचल्तीको मूल्यअनुसार करिब रु १० करोड र मालपोतका अनुसार रु एक करोेडभन्दा बढी मूल्यको रहेको बताइएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत निर्माण हुने उक्त इन्स्टिच्युटका लागि स्वीकृति प्राप्त भइसकेको छ । वालिङ नगर प्रमुख खाँणले भने, “नगरपालिकालाई प्राप्त भएको उक्त जग्गामा अब हामीले पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी यही आर्थिक वर्षदेखि निर्माण प्रक्रिया शुरु गर्छौंं ।”

निर्माण शुरु भएको पाँच वर्षभित्र सक्नेगरी काम अगाडि बढाइने र सम्पूर्ण पूर्वाधार तयार भई पूरा भइसकेपछि विविध विषयमा एकैपटकमा पाँच हजार विद्यार्थीले अध्ययन गर्नसक्ने वालिङ नगरपालिकाले जनाएको छ ।

देशलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने, प्राविधिक शिक्षा तथा ब्यावसायिक तालीमका अवसरहरुको विस्तार गर्ने, परम्परागत सीप र क्षमताको पहिचान तथा संरक्षण गरी गुणस्तरीय वस्तुको उत्पादनमा जोड दिने वालिङ पोलिटेक्निकल इन्स्टिच्युटको उद्देश्य रहेको नगर प्रमुख खाँणले बताए ।

वडावासीले निःशुल्करुपमा जग्गा प्रदान गरेसँगै वालिङ नगरपालिकाले पोलिटेक्निकल इन्स्टिच्युट निर्माण गर्ने भएपछि वडावासी हर्षित रहेका १३ नम्बर वडाका वडा अध्यक्ष आनन्द पाठकले बताए ।

“अहिले जग्गाको मूल्य बढीरहेका बेला यति धेरै जग्गा निःशुल्करुपमा एकै ठाउँमा पाउनु ठूलो उपलब्धि हो”, १३ नम्बर वडा अध्यक्ष पाठकले भने, “जग्गादाताहरुले विकासका लागि सामूहिकरुपमा ठूलो परिमाणमा जग्गा उपलब्ध गराएका छन्, यसले पनि प्रमाणित गर्छ विकासका लागि स्थानीयबासिन्दा पनि सधैँ हामीसँगै छन् ।”