अन्तर्राष्ट्रिय

धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर, अब आजिबन जेल जाने

जोधपुर, भारत । उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उनकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला बुधबार सुनाएका हुन् ।
ख्यातिप्राप्त एक धर्मगुरू गुरमितराम रहिमलाई भारतीय अदालतले यौनहिंसामा सम्लग्न रहेको भनी दिएको फैसलाको एक बर्ष नपुग्दै भारतीय अर्को अदालतले आशारामलाई पनि दोषी ठहर गरेको छ ।
आशारामसँगै उक्त मुद्दामा आरोपित चार जनामध्ये दुई सहयोगी सिल्पी र शरदलाई पनि उक्त घटनामा अदालतले दोषी ठहर गरेको छ भने अन्य दुईजना प्रकाश र शिवलाई निर्दोष भनी सफाई दिएको छ ।
विशेष अदालतको फैसला अनुसार आशारामले कम्तिमा १० बर्षको जेल सजाय भोग्नुपर्नेछ ।
साबरमती नदी किनारमा एउटा कुटीबाट आफ्नो धार्मिक अभियानलाई शुरु गरेका आशारामका विश्वभर ४०० आश्रम र करिब दश हजार करोड धार्मिक अनुयायी रहेको आशाराममार्गीहरूको दावी छ ।
यसैबीच अदालतमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशङ्का गर्दै न्यायाधीशले लगभग पाँच वर्षदेखि आशारामलाई बन्दी अवस्थामा राखिएको एउटा जेलमा उक्त फैसला सुनाएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एउटा सुरक्षा कारबाहीपछि सन् २०१३ मा उनलाई गिरफ्तार गरिएको थियो । उक्त समयमा सो नाटकीय घटनाक्रमलाई अविश्वास गर्दै उनका समर्थकले प्रदर्शनहरू गरेका थिए ।
पिडित बालिकाको परिवारको आशारामप्रति ठूलो भक्ति रहेको र उनले आशारामले सञ्चालन गर्ने आवासीय विद्यालयमा पढ्ने गर्थिन् ।