शिक्षा

निजी विद्यालयमा तालाबन्दी

भीमदत्तनगर । विद्यार्थी भर्नाको चाप बढिरहेका बेला बुधबार कञ्चनपुरको भीमदत्तनगरस्थित दुई निजी विद्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेको छ ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विद्यालयबाटै कापी, कलमको व्यापार गरेको भन्दै यहाँस्थित इन्टरनेशनल पब्लिक स्कुल र होली चिल्ड्रेन एकेडेमीमा तालाबन्दी गरेको हो । विद्यार्थी संगठनले दुवै विद्यालयको लेखा तथा प्रशासन शाखामा तालाबन्दी गरेपछि विद्यार्थी भर्ना कार्य प्रभावित बनेको विद्यालय प्रशासनले जनाएको छ ।

निजी विद्यालय शैक्षिक मापदण्ड विपरीत सञ्चालन गर्नुका साथै शुल्कमा आफूखुसी वृद्धि गरेकाले तालाबन्दी गर्नुपरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्रराज विष्टले जानकारी दिए । क्रान्तिकारीले आन्दोलनरत पक्षको मागबारे सुनुवाइ नगरेको भन्दै मंगलबार जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएका थिए । प्रहरीले आगजनीमा संलग्न दुई विद्यार्थी नेतालाई पक्राउ गरेपनि मंगलबार साँझ नै रिहा गरेको थियो ।