देश

पानीसुक्न थालेपछि तालका माछा छटपटाउँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् ।

बढ्दो गर्मीसँगै तालमा पानीको सतह घट्दै जान थालेपछि संरक्षण गरिएका माछा मर्ने सम्भावना बढेको हो । थोरै पानीमा धेरै माछा रहेकाले आवश्यक आहार र प्रर्याप्त विहार गर्ने ठाउँ नहुँदा माछाको अस्तित्व खतरामा परेको मणिका धाममा बस्दै आएका साधु आनन्द गिरीले बताए ।

“एउटै माछाको तौल १० देखि १५ किलोग्राम भन्दा बढी छ ।” उनले भने, “तालमा पानी एक तिहाइ पनि छैन, माछा मर्ने सम्भावना निकै बढी छ । जोगाउनका लागि सम्बन्धित निकायले चासो नदिए तालमा रहेका माछाका प्रजाति लोप हुने संभाबना छ ।”

वर्षातका बेला उत्तरतर्फको पहाडबाट आउने भेलले ताललाई पुर्दै आएकामा बचाउनका लागि चासो नदिँदा यस्तो अवस्था आएको यहाँका बासिन्दा बताउँछन् । ताल प्रतिवर्ष दुई मिटर बढीका हिसाबले पुरिँदै जान थालेको छ ।

पर्यटकीय क्षेत्रमा ल्याइएको धारामा समेत पानी आउने क्रम बन्द भएको छ । लाखौं रुपैयाँ खर्चेर बनाइएको खानेपानी आयोजनामा मसिनो पाइप राख्द चुना भरिएर पानी आउने क्रम बन्द भएकाले पर्यटकीय क्षेत्रमा पुग्ने अवलोकनकर्ताले सास्ती खेप्नुपरेको छ । तालमा लहरै उफ्रने माछा हेर्नका लागि पर्यटक यहाँ आउने गर्दछन् ।