समाचार

मुसहर बालबालिका विद्यालयमा

महोत्तरी । वर्षौदेखि अरुको बारी चहार्दै मुसा मार्ने र खेलकुदमै बाल्यकाल बिताउने परम्परा अन्त्य गर्दै मुसहर समुदायका बालबालिका विद्यालय जाने भएका छन् ।

गौशाला नगरपालिका– ७ मनहर्वास्थित मुसहर समुदायका एकसय बालबालिका नजिकै रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना हुने भएका हुन् ।

सो वस्तीमै पुगी बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षित बनाउनुपर्ने सन्देश यहाँका सञ्चारकर्मीले बस्तीमै गएर समय समयमा सन्देश सम्प्रेषण गरेपछि उनीहरु विद्यालय जाने भएका हुन् । बस्तीका अरु बालबालिका झोला, कपी, कलम बोकी विद्यालय गइरहेको समयमा बस्तीका बालबालिका भने काँधमा कोदालो बोकी तरकारीको लागि मुसा मार्न अरुको बारी चहार्दै आएका थिए ।
बालबालिका विद्यालय जाने भएपछि गौशाला नगरपालिकाले दिवा खाजा तथा विद्यालयको भौतिक संरचना निर्माणका लागि चासो देखाएको छ ।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगरक्षेत्रभित्र रहेका हरेक बालबालिकालाई शिक्षित बनाउने अभियान सफल बनाउनका लागि सो बस्तीमा यस्तो अवधारणा ल्याएइको जनाए ।
धुर्मुस (सीतारम कट्टेल) र सुन्तली (कुञ्जनात घिमिरे)ले सो समुदायका एकसय बालबालिकालाई नजिकै रहेको आधारभूत विद्यालयमा भर्ना गराउन यही वैशाख १३ गते सो बस्तीमा आउने भएको छ ।
बस्तीमा शिक्षाको ज्योति फैलिने स्थानीयवासी एवं अखिल क्रान्तिकारीका २ नं प्रदेशका सचिव सूर्यनारायण साहले बताए ।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टाईले एक रात बिताएका सो बस्तीका बासिन्दा हालसम्म पनि शिक्षा, स्वास्थ्य तथा विकासको दृष्टिकोणले पछिडिएका छन् ।