देश

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढदै

लहान । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ ।

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन् ।

दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासीको गुणासो छ ।

असार साउन महिनाको अबिरल वर्षाका कारण भत्केका सो सडक झन्डै आठ महिना बितिसक्दा पनि टालटुलसमेत हुनसकेको छैन् । खासगरी पूर्वमा मिर्चैयाको मटियर्वा चौकदेखि पश्चिममा सल्हेश चौकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ ।

मिर्चैयाको मटियर्वा चौक, थाना चौक, कटारी चौक र पश्चिम बस पार्कमा रहेका ठूल–ठूला खाल्डाखुल्डीले पैदलयात्रीलाई आवतजावत गर्न समेत समस्या भइरहेका छन् । एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेका छन् भने अर्कोतिर सडकमै माटो रहेकाले मिर्चैयाको मुख्य व्यापारिक क्षेत्रमा सवारी साधनको चापसँगै उडे्को धुलोधुवाँले व्यापार–व्यवसाय पनि कमी आएको स्थानीय व्यापारी अशोक साह बताउँछन् ।

राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक÷पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।

राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी भएका छन् भने कतिपय स्थानमा ग्राभेल हालेर पुरेको अवस्था छ । तर, सडक डिभिजन कार्यालय लहानले कालोपत्रे गरेर दिगो समाधान गर्न तर्फ खासै ध्यान नदिएको स्थानीयवासीको गुणासो छ ।

वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नुपरेका छन् । मुख्य मार्गमा पैदलयात्री आवतजावत गर्नेलाई पनि कठिनाई भइरहेको छ । सडकमा जोखिम मोलेर भए पनि चालकहरुले यातायात सञ्चालन गर्ने गरेका छन् ।

यता राजमार्ग मर्मतको ठेक्का लिएका ठेक्केदार रामबाबु यादवले एक हप्ताभित्रै सडक मर्मतको काम शुरु गर्ने बताए । सडकलाई मर्मत गर्नका सबै तैयारी भए पनि कामदारको अभावले केही ढिलो भएको यादवको भनाइ छ ।