देश

गोर्खाका भूकम्पपीडित ज्याला मजदूरी गर्दै

मनाङ । २०७२ वैशाख १२ गतेको भूकम्पले घरबारविहीन गोरखा केरौँजाका भूकम्पपीडित अझै मनाङमा ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका छन् ।

घरबार र आफन्त गुमाएपछि कुम्लोकाम्लो बोकेर मनाङ पसेका गोर्खाली अहिले मजदूरीमा व्यस्त छन् । भूकम्पले गाँस र बास हराएपछि भूकम्पपीडित गाँसबासको खोजीमा मनाङ छिरेका थिए । आफ्ना साना नानी काखी च्यापेर मनाङ पसेका पीडित ज्याला मजदूरी गरेर गुजारा चलाइरहेका छन् ।

अहिले ती भूकम्पपीडित मनाङको भ्रका, पिसाङ, ङावोल, घ्यरु र खंसारमा अस्थायी बसोबास गर्दै आएका छन् । उनीहरु दैनिक रु ६०० देखि ७०० कमाउँछन् । दिनभर मजदूरी गरी कमाएको पैसाले छाक टार्न मात्र पुग्ने गरेको गोर्खा केरौँजाकी माया गुरुङले बताइन् ।

भूकम्पले घर भत्काएर घरबारविहीन भएका पीडितले अहिलेसम्म सरकारले पहिलो किस्ताको रु ५० हजार दिएको राहतले कुनै गर्जो नचलेपछि आफूहरुले ज्याला मजदूरी गरेर पेट पाल्न बाध्य भएको बताउँछिन् ।

त्यस्तै, भूकम्पबाटै घरबारविहीन भएर ज्याला मजदूरी गर्न रसुवा, धादिङ, नुवाकोटलगायतका ठाउँबाट मनाङ आएका भूकम्पपीडित मनाङका विभिन्न ठाउँमा ज्याला मजदूरी गरी गुजारा चलाइरहेका छन् ।

भूकम्पले घरबारविहीन भएर कामको खोजीमा अन्यत्र गएकालाई पनि सरकारले राहत र बासस्थानको व्यवस्था मिलाउनु जरुरी देखिएको छ ।

भूकम्प गएको तीनवर्ष बितिसक्दा पनि पीडितको अवस्था ज्यूँका त्यूँ हुनुमा कसको कमजोरी छ, कहिले पाउलान् पीडितले तोकिएको राहत, यसमा सरकारको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ ।