पर्यटन/संस्कृति

पर्यटकीय जिल्ला बनाउन दौडधूप

पाँचथर । पाँचथर लिम्बूको बसोवास भएको प्रमुख जिल्लाका रुपमा चिनिन्छ । प्राकृतिक रुपमा धनी पाँचथर पर्यटनका क्षेत्रमा पर्याप्त सम्भावना बोकेको जिल्ला हो । भौतिक पूर्वाधार अभावका कारण पर्यटनको विकासमा उल्लेख्य प्रगति हुन सकेको छैन ।

फिदिम नगरपालिका फाल्गुनन्दको तपोभूमि भएकै कारण किराँतीहरुको अनुसन्धानका लागि सरकारीस्तरबाट नै काम भइरहेको नगरपालिकाकी उपप्रमुख उर्मिला प्रधान (श्रेष्ठ) बताउँछन् । अनुसन्धानका लागि नगरपालिकाले सहयोग गरिरहेको उनले बताए ।

“नगरपालिकाको साधुटारमा पर्यटकका लागि शौचालय निर्माण गरिएको छ,” उनले भने । महिलालाई लक्ष्य गरी होमस्टे(घरबास) को अवधारणा अगाडी बढाइएको छ । खाना बनाउन जान्ने र शिक्षित महिलालाई पर्यटन गतिविधिमा सहभागी गराउने नगरपालिकोको उद्देश्य छ ।

“स्थानीय समुदायलाई लाभान्वित गराउने नगरपालिकाले योजना बनाइरहेको छ,” उनले भने ।

नगरपालिकाले फाल्गुनन्द प्रतिष्ठान विकास योजना कोष खडा गर्न लागेको नगरपालिकाका प्रमुख वसन्तकुमार नेम्वाङले जानकारी दिए । “फाल्गुनन्दको समाधिस्थलबाट पाथिभरासम्म जोड्ने योजना बनाएका छौँ,” उनले भने, “पाँचथर र पाथिभराको सम्बन्ध यसले थप बलियो बनाउँछ ।”

इलामदेखि पाँचथर हुँदै ताप्लेजुङसम्म पदमार्गको स्थापना गर्नका लागि पाँचथर, इलाम र ताप्लेजुङले योजना बनाइरहेका छन् । सम्बन्धित गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्रबाटै पर्यटनको विकासका विषयमा छलफल भइरहेको उनले बताए ।

जिल्लासँग जोडिएका सबै जिल्लामा पर्यटकीय मार्गको विकास गर्नका लागि नगरपालिकाले जिल्लाभित्रका सबै स्थानीय तहसँग छलफल गरिसकेको छ । पाँचथरको विविध विशेषताका कारण पनि यहाँका जनप्रतिनिधिले पर्यटनको विकासका लागि जोड दिँदै आएका हुन् । यहाँ ४०।१२ प्रतिशत लिम्बूको बसोवास रहेको छ । जिल्लामा ‘हिलेहाङ दरबार’को भग्नावशेष अहिले पनि देख्न सकिन्छ ।

महागुरु फाल्गुनन्दको तपोभूमि भएका कारण यहाँका बासिन्दाले जिल्लामा पर्यटनको विकासमा बढी चासो दिने गरेका छन् । फिदिम माविमा कार्यरत शिक्षक हरिचन्द्र लावती पाँचथरमा लिम्बू भाषाको बाहुल्यता भएकाले राज्यले लिम्बूवानलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिनुपर्ने बताए ।

“ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रुपमा जिल्ला धनी छ,” उनले भने । लिम्बूको भाषिक अध्ययन केन्द्र बनाउन सरकार र सम्बन्धित निकायले चासो दिनुपर्नेमा उनले जोड दिए । फाल्गुनन्दले शान्तिको सन्देश दिँदै यस क्षेत्रमा तपस्या गरेका थिए । पछि उनले आफ्नो कर्मथलो बनाए । उनले प्रयोग गरेका सामग्री हालसम्म यहाँ सुरक्षित छन् ।

फाल्गुनन्दले प्रयोग गरेका चिम्टा, त्रिशूल, खाटलगायत सामग्री सुरक्षित राखिएको फाल्गुनन्द मन्दिरका पूजारी नहेम्हाङ नेम्वाङले जानकारी दिए । यस मन्दिरमा पूजा गर्दा दुःख, कष्ट अन्त्य हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । “लिम्बूको संग्रहालयलगायत ऐतिहासिक भग्नावशेषलाई सुरक्षित राख्न सके पर्यटनको विकासमा सहयोग पुग्छ” उनले भने ।