कृषि

आलु परीक्षणको लागि पठाउने तयारी

बनेपा । आलु खन्ने समय शुरु हुन थालेपछि काभ्रेपलाञ्चोकको विभिन्न क्षेत्रका किसानले आलु संकलन गरी परीक्षणको लागि पठाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन(आलु)को बनेपास्थित कार्यालयले जिल्लामा बढी मात्रमा आलु फल्ने क्षेत्र पहिचान गरी त्यसमा के कतिको विषादी प्रयोग गरिएको छ भन्नेबारे किसान, उपभोक्ता एवं सरोकारवालालाई जानकारी दिन नमूना संकलन गर्दैआएको छ ।

सुपरजोन (आलु) बनेपा कार्यालयका प्रमुख किशोरप्रसाद पन्तका अनुसार जिल्लाका करिब ५० वटा स्थानबाट नमूना परीक्षणको लागि आलु संकलन गरिएको छ । आलुमा प्रयोग हुने विषादीको अवस्था थाहा पाउनका लागि विषादी अवलोकन परीक्षण तथा विश्लेषणको लागि नमूना संकलन गरिएको उनको भनाइ छ ।

संकलित आलु कालिमाटीस्थित बाली संरक्षण निर्देशनालय हरिहरभवन अन्तर्गत द्रुत विषादी विश्लेषण प्रयोगशालामा पठाइनेछ । आलुमा अत्यधिक विषादी प्रयोग भएको कुरा आएपछि किसानले आलुको मूल्य नपाउने अवस्था आएको पन्त बताउँछन् । “परीक्षण गरे किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सहज हुनेछ,” उनले भने ।

परीक्षणका लागि पाँचखाल उपत्यका, बनेपाको नाला, धुलिखेल र पनौतीको १०÷१० स्थान तथा ढुंखर्क क्षेत्र र मण्डन देउपुरको महादेवस्थानको पाँच÷पाँच स्थानबाट आलु संकलन गरिएको छ । विषादी परीक्षणको नतिजा एक महिनाभित्र आउनेछ । जिल्लामा नौ हजार ७५० हेक्टर क्षेत्रफलमा आलुखेती हुनेगरेको तथ्यांक छ ।