पर्यटन/संस्कृति

वाग्मती तीर्थयात्रा शंखमूलमा

काठमाडौँ । सोमबारदेखि शुरु भएको वाग्मती तीर्थयात्रा दोस्रो दिन आज शिखरनारायणबाट शुरु भएको छ ।

जलविनायक, आदिनाथ, सुन्दरीघाट, बल्खु, कुलेश्वर, हुँदै पचलीमा यात्रा आइपुगेको छ । पचलीमा पूजा, हवन र वाग्मतीको मन्त्रसाधना गरिने यात्रा संयोजक वरुण खतिवडाले राससलाई जानकारी दिए । वाग्मती फोहर हुँदै गएपछि विसं २०३४ मा रोकिएको वाग्मती तीर्थयात्रा ४० वर्षपछि सोमबारदेखि पशुपतिनाथ परिसरबाट शुरु भएको थियो । आज टेकु दोभानमा पञ्चलिंगेश्वर एवं पचली भैरवलगायत २७ तीर्थस्थलको पूजा एवं दर्शन गरी शंखमूलमा बास हुने छ ।

लामो समयपछि वाग्मती तीर्थयात्रा शुरु भएकाले स्थानीयवासीमा उत्साह बढेको यात्रा समूहले जनाएको छ । चालीस वर्षपछि यात्रा पुनःसञ्चालन गर्न पशुपति क्षेत्र विकास कोषले नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । यात्रामा गरिनुपर्ने विधिविधानका सबै काम पशुपति आगम घरका पुजारी मदन भट्टले पूरा गरेका छन् ।

वाग्मती यात्रा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पनि विशेष चासो दिएको थियो । मन्त्रालयले १०० दिनभित्र गर्ने काममा वाग्मती यात्रासमेत परेको छ । सो कार्यक्रम मन्त्री रवीन्द्रप्रसाद अधिकारीले गत चैत १६ गते सार्वजनिक गरेका थिए । सर्वप्रथम नेमुनिले चलाएको विश्वास गरिने सो यात्रा वाग्मतीको कटुवाल दहबाट उद्गमस्थल वाग्द्वारसम्म १८ कोशको दूरीमा सञ्चालन हुन्छ । यात्रामा १६५ तीर्थस्थलमा स्नान, पूजालगायत धार्मिक विधि पूरा गरिन्छ । वाग्मती यात्रामा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा गरिने पुजारी भट्टले जानकारी दिए ।