पर्यटन/संस्कृति

उग्रतारा मन्दिरमा वेद विद्याश्रम सञ्चालन

डडेल्धुरा । डडेल्धुरा जिल्लामै पहिलो पटक हिन्दू धर्मको जगेर्ना गनेृ उद्देश्यले उग्रतारा वेद विद्याश्रम खोलिएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ स्थित सुदूरपश्चिमकै महाशक्ति पीठका रुपमा रहेको प्रसिद्ध उग्रतारा भगवती मन्दिर परिसरमा रहेको धर्मशालामा वेद विद्याश्रम खोलिएको हो ।
सरकारको भर्ना अभियान सँगसँगै नयाँ शैक्षिकसत्र २०७५ का लागि कक्षा ६ मा २० बालकलाई भर्ना गरिने उग्रतारा वेद विद्याश्रमले जनाएको छ ।

सामुदायिक विद्यालयका नेपाली, अंग्रेजी, गणित र सामाजिक पाठ्यपुस्तकसँगै अन्य चार वटा वेद, व्याकरण, संस्कृतिलगायत आठ वटा विषयमा अध्यापन गराइने उग्रतारा क्षेत्र विकास समिति तथा उग्रतारा वेद विद्याश्रमका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए ।

उग्रतारा मन्दिरकोे धर्मशालाका छ वटा कोठामध्ये दुईमा पठनपाठन गराइने र चार कोठामा आवासको व्यवस्था गरिने भएको छ ।

आश्रमका अध्यक्ष साँकीका अनुसार आन्तरिक व्यवस्थापनको समस्याका कारण यो वर्ष २० जनाको मात्रै कोटा राखिएकामा अहिलेसम्म १६ विद्यार्थी भर्ना भइसकेका छन् । हालसम्म डडेल्धुरा, बैतडी र डोटीबाट ब्राह्मण जातिका बालक भर्ना हुन आएका छन् ।

पहिलो वर्षमा शास्त्री पास गरेका एकजना स्थानीय र बाँकी विषयगत शिक्षक नियुक्त गरिने सरकारी विद्यालय समान मान्यता प्राप्त सो विद्यालयमा वैशाख २० गतेदेखि नियमित कक्षा सञ्चालन हुनुअघि उद्घाटन गरिने अध्यक्ष साँकीको भनाइ छ ।