खेलकुद

फुटबलले जगाएको आशा

बागलुङ । एक महिनाको अवधिमा बागलुङमा ठूलो पुरस्कार राशिका तीन फुटबल प्रतियोगिता भए । पहिलो– बागलुङ नगरपालिकाको आयोजनामा प्रदेशस्तरीय ‘मेयरकप फुटबल प्रतियोगिता’, दोस्रो– स्ववियु धवलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको ‘अन्तर कलेज फुटबल प्रतियोगिता’ र तेस्रो– युवा तथा खेलकूद विकास समितिद्वारा आयोजित फुटबल प्रतियोगिता ।

‘मेयरकप’ हालसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता थियो जसका विजेताले नगद रु दुई लाख २२ हजार २०२ हात पारे । अन्य दुई प्रतियोगिताको पुरस्कार भने नगद रु एक–एक लाखको थियो । उल्लेखित विवरणले जिल्लामा फुटबलको बढ्दो विकासक्रमलाई चित्रित गर्छ ।
बागलुङको झण्डै ४४ वर्ष लामो फुटबल इतिहासको जगमा आजको स्थिति निर्माण भएको हो । यसलाई खेल क्षेत्रका पदाधिकारीले सुखद मात्र मानेका छैनन् फुटबलको भविष्य सुन्दर बन्नेमा दृढ छन् । लगानी, पूर्वाधार र जनशक्ति अभाव भएपनि फुटबलले गरेको गतिप्रति सन्तुष्ट हुनुहुन्छ जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङ । उनले भने, “बागलुङमा फुटबलको राम्रो सम्भावना छ ।”

अध्यक्ष गुरुङले व्यवस्थित फुटबल मैदानलगायतका खेल पूर्वाधारको भने खाँचो रहेको बताए । खेलको विकास स्थानीय सरकारको पनि दायित्वमा पर्ने हुँदा खेल क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो । सदरमुकाममा रहेको बाङ्गेचौर खेल मैदानबाहेक अन्य ठाउँमा रहेका फुटबल मैदान मापदण्डमा छैनन् । बागलुङ नगरपालिका–१० भकुण्डे, तमानखोला गाउँपालिका–४ र गलकोट नगरपालिका–११ रिघामा रहेको फुटबल मैदान स्तरोन्नतिको पर्खाइमा छन् ।

राष्ट्रियस्तरका खेल खेल्न मिल्ने फुटबल मैदानको अभाव रहेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बताए । “बाङ्गेचौरमा क्षेत्रीय प्रतियोगिताहरु भइरहेका छन्”, उनले भने, “अन्यमा ठूला खेल खेलाउन नसकिने अवस्था छ ।” अध्यक्ष परियारले बाङ्गेचौरलाई आधुनिक रंगशालाका रुपमा विकास गर्ने योजना रहेको बताए । “रंगशाला निर्माणको गुरुयोजना बन्दैछ”, अध्यक्ष परियारले भने, “बागलुङको खेलकूदमा यसले ठूलो महत्व राख्छ ।”

पछिल्लो समय रुग्ण अवस्थामा रहेको बाङ्गेचौर खेल मैदानको स्तर सुधार भएको छ । सरकारी सहयोग र निजी क्षेत्रको पहलमा खेल मैदान चौडा गर्ने, सतह मिलाउने, तारबार गर्नेलगायतका काम भएका छन् । मैदानको सुधारपछि प्राय नियमित फुटबल प्रतियोगिता आयोजना भइरहेका छन् । खेलाडी उत्पादनका लागि पनि बाङ्गेचौर खेल मैदानले ठूलो योगदान दिएको छ । यही मैदानमा फुटबल सिकेका खेलाडी अहिले राष्ट्रियस्तरसम्म पुगेका छन् ।

युवा पुस्तामाझ फुटबलप्रतिको आकर्षण बढ्दै गएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रशिक्षक भीम बोहराले बताए । “खेलको स्तर पनि बढ्दो छ, प्रतियोगिता भइरहेका छन्”, उनले भने, “सरकारी, निजी क्षेत्रबाट प्रतियोगिता आयोजना गरिनु सुखद छ ।” फुटबलको प्रवद्र्धन र व्यावसायिक खेलाडी उत्पादन गर्न प्रतियोगिता जरुरी रहेको उनको भनाइ थियो । प्रशिक्षक बोहराले पनि खेल पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

जिल्लामै पहिलो पटक महिला खेलाडी उत्पादनका लागि अहिले प्रशिक्षण पनि चलिरहेको छ । चौध वर्षमुनिका किशोरीलाई प्रशिक्षण दिइरहेको प्रशिक्षक बोहराले बताए । छ । जिल्ला र बाहिर हुने फुटबल प्रतियोगितामा खेलाडी प्रमेश थापाले बागलुङको कप्तानी सम्हाल्दै आएका छन् । “अहिले प्रतियोगिता बढी हुन्छन्, पुरस्कारको राशि पनि बढ्दै गएको छ”, उनले भने, “फुटबलको व्यावसायिक विकास शुरु भएको छ ।”

बागलुङका खेलाडी कमल थापा, आशिष केसीलगायतले ‘ए डिभिजन’ का राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् । खेलाडीलाई फुटबलमा टिकाउनु मुख्य चुनौती रहेकामा जोड दिंदै खेलकूद विकास समितिका अध्यक्ष परियारले खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता हुनुपर्ने धारणा राखे ।

खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । उनले खेलकूद प्रवद्र्धनका लागि पूर्वाधारमा लगानी बढाउने प्रतिबद्धता जनाए । “हाल भएका खेल मैदानको स्तरवृद्धि र वैकल्पिक मैदानको पनि खोजी गर्ने तयारीमा छौँ ।”
नगरपालिकाकै आर्थिक सहयोगमा यसै वर्ष बागलुङको भकुण्डेमा रहेको ठूलाताल फुटबल मैदानको स्तरोन्नति भएको छ । गत माघमा भएको ‘मेयरकप’ फुटबल प्रतियोगिताको एउटा खेल सोही मैदानमा खेलाइएको थियो । पर्यटकीय गाउँ भकुण्डेमा भएको फुटबल मैदानले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने ठानिएको छ । सदरमुकाममा रहेको बाङ्गेचौर खेल मैदानलाई रंगशालाका रुपमा विकास गर्न सके त्यसले खेल क्षेत्रमा ठूलो परिवर्तन ल्याउने देखिन्छ ।