राजनीति

विधान विपरीतका निर्णय खारेज नगरे कडा रुपमा प्रश्तुत हुन्छौं : आचार्य

काठमाडौँ । नेपाल विद्यार्थी संघले केन्द्रीय समितिको बैठक बिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै उक्त निर्णय खारेज गर्न माग गरेको छ ।

नेविसंघले आज पत्रकार सम्मेलन गरी विधानविपरीत विश्व विद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति गठन गरेको भन्दै निर्णय खारेज गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा नेविसंघका नेता मनोजमणि आचार्यले नेविसंघजस्तो ऐतिहासिक संगठनलाई तानाशाही शैलीमा अगाडि बढाएको भन्दै उक्त कदम आफूलाई मान्य नहुने बताए । उनले ‘बलियो काँग्रेस निर्माणका लागि सशक्त नेविसंघ’ बनाउनुपर्ने भन्दै उक्त कार्य वर्तमान नेतृत्वबाट हुन नसकेको उल्लेख गरे ।

नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाले महाधिवेशन सुनिश्चितताका लागि तत्काल विधान सम्मेलन राखी मिति तोक्नुपर्ने बताईन् । “महाधिवेशन हुन चार महिना बाँकी रहँदा अध्यक्षको यो कार्यशैलीले निर्वाचन हुन सक्दैन,” – उनले भनिन्।

नेविसंघका नेता दीपक भट्टराई महाधिवेशनको सुनिश्चितताका लागि विधान विपरीत गरिएका सबै नियुक्ति खारेज हुनुपर्ने बताए । चिठी लेखेर गरिएका नियुक्तिले नेविसंघ द्वन्द्वमा फसेको उनको भनाइ थियो ।

नेविसंघको ११ औँ महाधिवेशन भएको तीन महिनाभित्र विवादित जिल्लाको विवाद समाधान गर्ने भनिए पनि २० महिना पुग्दासम्म नभएको उपाध्यक्ष नवीन राईले बताए ।

अध्यक्ष नैनसिंह महरले संगठन विधान विपरीत सञ्चालन गरेको भन्दै उपाध्यक्ष नवीन राई, उर्मिला थपलिया, खड्गबहादुर डाँगी, प्रकाश राना र सागर परियारले असन्तुष्टी जनाउँदै सोमबार काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराएका छन् । नगर काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने

दमक । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ ।

काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई लक्षित गरेर त्यस्तो शैक्षिक कार्यक्रम शुरुवात गर्न लागिएको नगर सभापति रोशन विष्टले जानकारी दिए ।

सो कार्यक्रम यसै शैक्षिक सत्रबाट शुरु हुने र त्यस्ता विद्यार्थीको अध्ययनका क्रममा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने पार्टीले जनाएको छ ।

अध्ययनका क्रममा लाग्ने ती विद्यार्थीको रकम सबै पार्टीको कोषमार्फत परिचालन गर्ने व्यवस्था गरिएको नगर सभापति विष्टले बताए । पार्टीको वडा समितिले सिफारिसका आधारमा उनीहरुले चाहेकै विद्यालयमा भर्ना गरिदिने तयारी गरिएको सभापति विष्टले बताए ।

विद्यार्थी भर्नामा धमाधम प्रवेश लिइँदै

यसैबीच, कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी नपुगेर बन्द गरिरहनु परिरहेको अवस्थामा दमकमा रहेको हिमालय माविमा भने विद्यालयको क्षमताभन्दा धेरै विद्यार्थी भर्ना हुन आउने गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर बस्नेतका अनुसार विद्यालयले नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना खुलाएकामा विद्यालयले धान्न सक्नेभन्दा धेरै विद्यार्थी भर्ना गर्न आउने गरेका छन् ।

यसपटक विद्यालयले कक्षा ९ मा ७५ जनाको कोटा खुलाएकोमा ३०० भन्दा धेरैले भर्ना फारम भरेका थिए । विद्यार्थी छनोटमा विद्यालयले अनिवार्य प्रवेश परीक्षा नै लिँदै आएको प्रधानाध्यापक विष्णुकान्त झाले बताए ।

जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय ठहरिएको सो विद्यालयमा अधिकांश निजी छाडेर आउने गरेका छन् । अंग्रेजी माध्यमसहित गुणस्तरीय शैक्षिक पठनपाठन हुने भएका कारण विद्यार्थी भर्ना हुने चाप ह्वात्तै बढेको प्रअ झा बताउनुहुन्छ । विद्यालयमा दुई हजार हाराहारीमा विद्यार्थी रहेका छन् ।