शिक्षा

परियत्ति शिक्षा अध्ययनअध्यापन शुरु

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा बौद्धदर्शनमा आधारित परियत्ति शिक्षा अध्ययनअध्यापन शुरु गरिएको छ ।

रामग्राम–१२ शान्तिचौरस्थित सरस्वती माविका विद्यार्थीका लागि परियत्ति शिक्षाको पाठ्यपुस्तक वितरण गरी बौद्धदर्शनमा आधारित परियत्ति शिक्षा पठनपाठन शुरु गरिएको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकरप्रसाद रायले जानकारी दिए ।
बुद्धको मावलीसमेत रहेको प्राचीन कोलीय राज्यको राजधानी रामग्रामका बासिन्दा नै बुद्धको जीवनी र शिक्षासँग परिचित नभएका अवस्थामा अहिले सरस्वती माविले परियत्ति शिक्षा लागू गरेर उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक दयानन्द चौधरीले बताए । सरस्वती मावि परियत्ति शिक्षा नगरपालिकाको मात्रै पहिलो नभई जिल्लाकै पहिलो विद्यालय भएको जनाइएको छ ।

परियत्ति शिक्षाले बालबालिकामा नैतिक शिक्षा दिन, पञ्चशीलको आचरण गराउन र दैनिक व्यवहारमा समेत परिवर्तन ल्याउनमा सहयोग गर्ने जिल्ला समन्वय समितिका प्रमुख रायले बताए । कक्षा १ देखि शुरु भएको शिक्षा क्रमशः प्रत्येक वर्ष थपिँदै लगिने योजना छ । यसले गर्दा पछि बौद्धदर्शन अध्ययनका लागि सहयोगी हुने विद्यालयले जनाएको छ । अझ बुद्धको मावलीमात्रै नभई संसारको एकमात्र सिङ्गो आठ भागको एक भाग गौतमबुद्धको अष्ट धातु रहेको रामग्राम स्तूप यहीँ नै छ ।

नागरिक समाजका जिल्ला अध्यक्षसमेत रहनुभएका विपश्यना साधक शम्भुप्रसाद उपाध्यायले परियत्ति शिक्षाबाट बालबालिकालाई बेलामै विपश्यनाको अभ्यास सिकाउनमा पनि मद्दत पुग्ने जानकारी दिए ।