समाचार

क्यान्सर पीडित विकलाई रु दुई लाख

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका क्यान्सर पीडित सोमबहादुर विकको उपचारको लागि रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ ।

रक्त क्यान्सरबाट पीडित भई अस्पतालमा उपचाररत विकको सहयोगार्थ स्थानीयले रु दुई लाख एक हजार ५६० आर्थिक संकलन गरी विकको परिवारलाई उपलब्ध गराएका हुन् ।

कतार प्रवासी संघ, दानाले सहयोग गरेको रु ४२ हजार र अन्य समुदायको पहलमा स्थानीयस्तरमा संकलन गरिएको रकम गरी एकमुष्ठ रु दुई लाख एक हजार ५६० सहयोग रकम विक परिवारलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा कतार प्रवासी संघ, दानाका प्रतिनिधि जंगबहादुर विक, कार्यपालिका सदस्य थमबहादुर विक र वडा सदस्य गंगा विकले संयुक्तरुपमा क्यान्सरपीडित विककी आमा जसमायाँलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको थियो ।

विकको उपचारका लागि स्थानीयको अगुवाइमा दाना, नारच्याङ, भुरुङ, तातोपानी, दोवा, पोखरेबगरलगायतका ठाउँबाट आर्थिक संकलन गरिएको अभियन्तासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य थमबहादुर विकले जानकारी दिए ।

विकको उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएकाले अन्य सहयोगदातालाई समेत मन खोलेर सहयोग गरी विकको जीवनरक्षाका लागि उनले अपिल गरेका छन् ।