अन्तर्राष्ट्रिय

काबुल भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

काबुल, अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ ।

नजिकिँदै गरेको निर्वाचनमा सहभागिता जनाउन मतादाता परिचयपत्र लिनका लागि नागरिकहरू एक सरकारी कार्यालय अगाडि रहेका समय स्थानीय समयानुसार बिहान १०ः१० मा घटना भएको प्रहरीले जनाएको छ ।

आक्रमणकारी अन्य नागरिक झैँ उक्त कार्यालयमा मतदाता परिचयपत्र लिन लाइनमा बसेका नागरिकलाई लक्षित गरी आक्रमण गरेको थियो ।

घटनास्थललाई प्रहरीले तत्कालै नियन्त्रणमा लिई घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको छ । उपचाररत कतिपय घाइतेलाई गहिरो चोट लागेकोले मृतक सङ्ख्या थप केही बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ ।

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले गत अप्रिल एक तारिखका दिन आउदो अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो ।

अफगाननितस्तानमा तालिबान आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो ।