राजनीति

कलम चलाउन नडराउनुस काँग्रेस तपाईको साथमा छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार जगत्ले निडरताका साथ कलम चलाउनुपर्ने बताएका छन् ।

देशान्तर साप्ताहिकको ३६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले देशान्तर पत्रिकाले पञ्चायतकालदेखि नै प्रजातन्त्रका पक्षमा निर्भिकताका साथ कलम चलाएको स्मरण गर्दै आगामी दिनमा पनि जनजीविकाका हरेक सवालमा निष्पक्षताका साथ मुद्दा उठान गर्न सुझाव दिए ।

कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्रपूर्वक भेला हुने अधिकार र मानवाधिकार सधैँ सुरक्षित हुनुपर्ने विचार व्यक्त गरे । काँग्रेस सधैं स्वतन्त्र पत्रकारिताको पक्षमा भएको जनाउदैं कलम चलाउदा जिम्मेवार भएर चलाउन आग्रह समेत गरे ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतको चुनौतीपूर्ण राजनीतिक परिवेशमा पनि देशान्तर पत्रिकाले प्रजातन्त्रका पक्षमा गरेको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सफलताका लागि शुभकामना व्यक्त गरे ।

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सञ्चार माध्यमका थोरै मात्र विकल्प रहेको पञ्चायतकालीन अवस्थामा देशान्तर पत्रिकाले प्रजातन्त्रका पक्षमा गरेको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, देशान्तर पत्रिकाका प्रधानसम्पादक कविर राणालगायतले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै देशान्तर पत्रिकाले लोकतन्त्र र जनजीविकाका पक्षमा गरेको योगदानको चर्चा गरेका थिए ।