समाचार

च्याम्प चितवनमा कला तिखार्दै बालबालिका

रत्ननगर, चितवन । चितवनको भरतपुर–१२ मुनालचोककी पुनम कर्णका १३ वर्षीय छोरा आदित्य कर्ण केही न केही नबनाई बस्नै सक्तैनन् । यसपालि च्याम्प चितवनमा आफ्नो प्रतिभा देखाउन उनले प्लेन बनाए । प्लेन उडाएरै देखाउने उनको धोको थियो तर, चाहिएको पार्ट(रिमोट) बजारमा नपाउँदा उनले प्लेन उडाउन भने सकेनन् ।

लिटिल फ्लावर स्कुलमा कक्षा सातमा पढ्ने उनको प्रतिभालाई सबैले कदर गरे । प्लेन हातमा लिँदै आदित्यले भने, ‘एकदिन उडाएर देखाउँछु ।’ च्याम्प चितवनमा सहभागी भएपछि आदित्यको मनोबल बढेकामा आमा पुनम खुशी छिन् ।

छोरी ब्रिटिशाको प्रतिभाबारे पूर्ण जानकार नभएकी भरतपुर ४ लंकुकी झरना बराल अहिले दङग परेकी छन् । विगतको भन्दा फरक क्षमता देखाएर अगाडि बढ्दै गरेकी ब्रिटिशा अहिले स्टेज कभर गर्न सक्ने भएकी छिन् । ‘स्टेजमा गएर गाउने, नाच्ने, प्रस्तुति देखाउने सबै गरी छोरीको प्रतिभा हेर्न आएकी झरनाले खुशी हुँदै भनिन् – ‘अवसर पाएकामा राम्रो लाग्या छ ।’

त्यसो त अर्किड कलेजमा पढ्ने भरतपुर ७ निवासी १४ वर्षीय रोशनी गिरीलाई कला भएर पनि पहिले नाच्न डर लाग्थ्यो । अब त्यो डर उनीबाट हराएर गएको छ । उनी नाइट क्याम्पमा सहभागी भइन् । सौराहामा थारु कल्चरबारे सिकिन् । अनाथ असहायहरुको जीवन बुझिन् ।

‘अरुको पीडा बुझ्ने अवसर मिल्यो, लुकेको प्रतिभा अब जहाँ पनि देखाउन सक्ने भएकी छु,’ रोशनी गर्वका साथ भन्छिन् – ‘अब समाज परिवर्तनमा काम गर्न चाहन्छु ।’ उनीहरुमा आफ्नो प्रतिभामात्रै प्रष्फुटन भएको छैन, सामाजिक व्यवहारसमेत सिक्ने मौका मिलेको छ ।

यस्तै, अवसर पाउनेमा भरतपुर ५ का दिवस अधिकारी पनि छन् । साथीहरु विदामा घुम्न जाँदा दिवस भने अहिले सामाजिक व्यवहार सिक्दै आफ्नो कला तिखार्न हरदम प्रयासरत छन् । ‘मलाई पहिले बोल्न र मुस्कुराउन आउँन्थेन,’ दिवसले भने, ‘अब कुनैपनि स्टेजमा प्रस्तुति दिन सक्छु ।’ आफू मात्र हैन, अरु पनि दुःखी छन् भन्ने कुरा उनको मनमा गहिरो रुपमा गढेको छ ।

यी बालबालिकालाई यसरी आफूभित्रका प्रतिभा उजिल्याउने र अरुको दुःख बुझ्ने अवसर दिएको हो ‘च्याम्प चितवन’ कार्यक्रमले ।

होलिडेज क्रियशन होमले सञ्चालन गरेको उक्त प्रतिष्पर्धामा अहिले बालबालिकाहरु आफ्नो प्रतिभा तिखार्न तल्लीन छन् । प्रतिभा देखाउने सँगै हिँड्ने, बोल्ने, र अरुसँग व्यवहार गर्ने कुराहरुमा बालबालिकालाई पोख्त बनाउने गरिएको छ बताउँछन् च्याम्प चितवनका कार्यक्रम संयोजक नारायण ढकाल ।

बालबालिकाहरु गीत, नाटक, नृत्य, विज्ञानसम्बन्धी कला देखाउने गरिरहेका ढकाल बताउँछन् । बोल्न डराउने बालबालिकाहरु अहिले मजाले फुकेका छन् ।

सामाजिक व्यवहार र यौन दुव्र्यवहारविरुद्ध प्रशिक्षण दिइरहनु भएका कल्पना शर्मा बालबालिका सानैदेखि सामाजिक कुराहरु सिकाउने हो भने उनीहरु सामाजिक मात्रै हैन असल नागरिक बन्ने बताउँछन् । यसपालिको यो दोस्रो कार्यक्रम हो । उक्त प्रतिष्पर्धामा ८६ जनाबाट छनोट भएका ४८ जना सहभागी थिए ।

त्यसमा साना उमेर ९७­१२ वर्ष०का एक समूह र ठूला उमेर ९१३­१६ वर्ष०का मिष्टर एण्ड मिस टिन प्रतिष्पर्धा पनि जारी छ । उनीहरुका माझबाट महिला र पुरुष गरी यही वैशाख १० गते २ विधामा ४ जना विजेता घोषणा हुँदै छन् ।

प्रशिक्षक एवं च्याम्प चितवनका आयोजक प्रतिनिधि लक्ष्मी पन्त भविष्य कोर्न बालबालिकाका लागि यो महत्वपूर्ण अवसर भएको बताउँछन् । सहभागी हुने उनीहरुले रु १५ हजार तिर्नुपर्छ । पैसा तिरेर सहभागी भएपनि उनीहरुले अमूल्य सीप सिकेर जाने गरेका छन् ।

बच्चाको अन्तरनिहीत प्रतिभालाई उजागर गरी जीवनोपयोगी सीप सिक्न च्याम्प चितवनले सहयोग गर्ने आयोजकको दावी छ ।