देश

एकेडेमीको पुनःनिर्माण शुरु

काठमाडौँ । विसं २०७२ को भूकम्पबाट क्षति पु¥याइएको नेपाल प्रज्ञा–प्रतिष्ठानको पुनःनिर्माण प्रारम्भ भएको छ ।

नेपालको कला तथा संस्कृतिको उजागर गर्ने एउटा महत्वपूर्ण संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानभित्रका मुख्य प्रेक्षालय तथा अन्य कक्ष चर्किएका कारण त्यसको मर्मतसम्भार गर्न थालिएको प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङले राससलाई जानकारी दिए ।

उनले भने, “नेपाल एकेडेमीको आत्मसौन्दर्य जोगाउँदै आधुनिक प्रविधि सम्पन्न हुने गरी प्रज्ञा भवनको जीर्णोद्धार गरिने छ ।” सबलीकरण गरी तीन महिनादेखि पुनःनिर्माण थालनी भएको प्रज्ञा–प्रतिष्ठानको मुख्य प्रेक्षालय, भित्री कक्ष तथा जगसम्बन्धी काम भइरहेको छ । सरकारको रु २२ करोडको लागतमा जीर्णोद्धार सम्पन्न गर्ने लक्ष्य रहेको सो भवन पूरा हुन करीब चार वर्ष लाग्ने अनुमान रहेको प्राज्ञ मुकारुङले बताए ।

नेपाल एकेडेमी ऐन २०१४ अनुसार नेपाली साहित्यकलाको विकास गर्न विसं २०१४ मा गठित रोयल नेपाल एकेडेमी विसं २०३१ मा ऐनमा संशोधनपछि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान र २०६२ मा नेपाल प्रज्ञा–प्रतिष्ठान परिणत भएको हो ।

प्रतिष्ठानले नेपालका विविध भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति विकास तथा अध्ययन, अन्वेषण गर्न, कलाकारमा मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न योगदान गर्दै आएको छ । प्रज्ञा–प्रतिष्ठानमा भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शन शास्त्रसम्बन्धी छुट्टाछुट्टै विभाग छन् ।